सुरक्षाकर्मीले कानुन मिचेर प्रदर्शनकारीमाथि अभद्र व्यवहार गरेको भए कानुनी कारबाही हुने दावी, घटनाबारे छानबीन गर्न सरकार तयार

काठमाडौं, २९ जेठ । गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका विषयमा लिएर माइतीघर मण्डलमा आइतबार भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले सदनलाई जानकारी दिँदै आन्दोलनका क्रममा राज्यपक्ष र सुरक्षाकर्मीले कानुन मिचेर अभद्र व्यवहार गरेको भए कानुनी कारबाहीमा ल्याउने दावी गरेका छन । मंगलवार व्यवस्थापिका संसदमा बोल्दै गृहमन्त्री थापाले आन्दोलनका क्रममा राज्यपक्ष र सुरक्षाकर्मीले कानुन मिचेर अभद्र व्यवहार गरेको भए कानुनी कारबाहीमा ल्याउने दावी गरे।‘कानुन विपरीतका घटनाको छानबिन प्रक्रिया सरकारले अघि बढाएको छ । राज्य वा प्रदर्शनकारी दुवैका तर्फबाट भएका काम कारबाहीको छानविन हुन्छ । सुरक्षाकर्मी दोषी भएमा पनि कारबाहीको दायरामा आउँछ,’ गृहमन्त्री थापाले भने।आइतवार सरकारले ल्याएको गुठी विधेयकका प्रावधानमाथि असन्तुष्टि राख्दै नेवाः संगठन र उपत्यका सडक विस्तार संघर्ष समिति समेतले प्रदर्शन गरेका थिए। गृहमन्त्री थापाले सार्वजनिक आवागनमलाई अवरोध खडा गरेकोकाले प्रहरी मुभ भएको जनाएका थिए। प्रहरीले पटकपटक अवरोध हटाउन माइकिङ गरेको र प्रदर्शनकारीले उक्त कुरा स्वीकार नगरी यातायात अवरोध जारी राखेकाले पानीको फोहरा प्रहार गरी आवागमन सुचारु गरेको संसदमा जानकारी दिएका थिए।गृहमन्त्री थापाले भने, ’यहाँ प्रश्न जसरी उठेको छ। राज्यले शान्तिपूर्ण विरोध र समर्थनको अधिकारमा बर्बर दमन गरेको आरोप छ, विषय उठान भएको छ । विरोध राज्यको नैसर्गिक अधिकार रक्षाका लागि सरकार प्रतिवद्ध छ ।’उनले शान्तिपूर्ण विरोधमा पानीको फोहोरा वा प्रदर्शन तितरवितर गराउन प्रयोग नभएको दावी गरे। राज्य सार्वजनिक शान्ति सुरक्षा र आवागनमको विषयमा सरकार प्रतिवद्ध रहेको बताउँदै उनले त्यसो गर्नु राज्यको दायित्व भएको बताए । गृहमन्त्री थापाले भने, जनताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गर्ने सोच सरकारको छैन ।” माइतीघर मण्डलमा भएको उक्त घटनाबारे छानबीन गर्न सरकार तयार रहेको बताउँदै गृहमन्त्री थापाले पानीको फोहरा प्रयोग गरेर सार्वजनिक आवागमन खोल्न प्रयास भइरहेका बेला प्रदर्शनकारीको ढुङ्गा र इँटा प्रहारबाट सुरक्षाकर्मी घाइते भएएपछि सामान्य बल प्रयोग गरी आन्दोलनकारीलाई नियन्त्रणमा लिई सोही दिनै रिहाइ गरिसकिएको जानकारी दिए । गृहमन्त्री थापाले भने ,“ राज्यको तर्फबाट होस् वा प्रदर्शनकारीबाट, कानून मिचिएको छ भने दण्डनीय हुनेछ । उक्त घटनाको आवश्यक छानबीन शुरु गरिसकिएको छ ।”
यसअघि बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सदस्यले गुठी विधेयकका विषयलाई लिएर आआफनो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले सो दलका राजेन्द्रकुमार केसीलाई बोल्न अनुमति दिएका थिए ।
बैैठकमा सांसद केसीले कम्युनिष्टहरु संविधान, कानून, धर्म, संस्कृति र परम्परा मान्दैनन् भन्ने कुरा माइतीघरमा भएको घटनाले पुष्टि गरेको आरोप लगाए । उनले भने, “संविधानमै धार्मिकस्थल र गुठीको संरक्षण गर्न पाइने व्यवस्था छ, काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानका जनता गुठी विधेयकको विरोधमा उत्रिएका छन, गुठी विधेयकका नामा धर्म र परम्परालाई चलाउने काम भएमा सह्य हुने छैन ।” पितापुर्खाले धर्म र सन्तानको हितका लागि राखेको गुठीको जग्गाप्रति सरकारको दृष्टिकोण के छ भनी प्रश्न गर्दै सांसद केसीले भने, “माइतीघर घटनाबारे छानबीन समिति बनाइयोस् । धार्मिक, सांस्कृतिक र भाषिक विविधता भएको मुलुकका रुपमा नेपालको पहिचान छ, हाम्रो संस्कार, परम्परा हाम्रा पहिचान हुन् । विधेयकले भयावह स्थिति उत्पन्न गराउँदै लगेकाले फिर्ता लिन हामी सरकारलाई आग्रह गर्छाँैँ ।” बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म र संस्कृतिका विरुद्धमा विधेयक आएकोे आरोप लगाउँदै सोको विरोधमा उत्रिएका जनतामाथि सरकारले माइतीघरमा किन बर्बरतापूर्ण दमन गरेको भनी प्रश्न गरे । उनले भने, “ प्रदर्शनमा उत्रिएका जनतालाई गिरफ्तारीपछि पनि कुटपीट गरिएको छ, यो निन्दनीय कुरा हो, जनताको संवैधानिक अधिकारको हनन गर्ने काम नगरियोस् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *