मिडिया काउन्सिल विधेयक फिर्ता लिन महासङ्घको माग

काठमाडौँ, २९ जेठ । नेपाल पत्रकार महासङ्घको बैठकले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन सरकारसँग पुनः जोडदार माग गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सरकारले संसदा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । गत वैशाख २९ देखि यही जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रुपमा सफल भएको निष्कर्ष निकाल्दै आगामी असार ३ गतेदेखि विधेयक फिर्ताको माग राख्दै आन्दोलन घोषणा गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी गराए । बैठकले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर सङ्कलन अभियान गर्ने, असार ६ गते सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध काटुन प्रदर्शनी गर्ने, असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वा्चित सङ्घीय र प्रदेश सांसदलाई सन्देश पठाएर ध्यानाकर्षण गर्ने रहेको छ । यस्तै असार २० गते वृहत ‘प्रेस स्वतन्त्रता सभा’को आयोजना गर्ने, असार २५ गते मध्यान्ह् १२ः०० बजे लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *