गिरफ्तार गरिएकालाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न माग गर्दै अखिल (क्रान्तिकारी)द्वारा चक्काजाम र शैक्षिक हड्ताल घोषणा

काठमाडौं, २८ जेष्ठ । नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले गिरफ्तार गरिएका आफ्ना नेता तथा कार्यकर्तालाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न माग गर्दै चक्काजाम र शैक्षिक हड्ताल घोषणा गरेको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्षले सोमबार विज्ञप्तिमार्फत आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी विरुद्ध असार ६ गते आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । चरणबद्ध संघर्षका कार्यक्रमहरु जेठ ३० र ३१ गते देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा । असार १, २ र ३ गते स् जुलुस प्रदर्शन । असार ४ गते देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम (९ बजेदेखि १० बजेसम्म ) । असार ५ गते देशव्यापी मसाल जुलुस । असार ६ गते गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरु उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रहहरु घोषणा गरिने छन् ।’ विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
‘हाम्रो महान् तथा गौरवशाली संगठन नेपालमा चलिराखेको दलाल पुँजीपति वर्गको जनविरोधी राज्य व्यवस्था र त्यसको जगमा अडेको असमान र अवैज्ञानिक दलाल पुँजीवादी शिक्षा प्रणालीको विरुद्धमा अनवरत रुपमा जीवनमरणको संघर्षमा रहेको विषय सर्वविदितै छ । गृह प्रशासनले हाम्रो संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाईरहेको छ । आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न यसले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।अध्यक्ष ढकालको विज्ञप्तिमा अगाडि ‘यसै सन्दर्भमा हाम्रो संगठनका सचिवालय सदस्य तथा भेरी ब्युरो संयोजक पुष्प न्यौपाने, गण्डक ब्युरो संयोजक मिलन राई, केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द, केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष प्रेम शाही, केन्द्रीय सदस्य तथा धादिङ जिल्ला अध्यक्ष अटल पाण्डे, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, कैलाली जिल्ला अध्यक्ष बबरजंगसिंह, पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पर्सा जिल्ला अध्यक्ष राधेश्याम साह, बारा जिल्ला अध्यक्ष भुपती साह, मुगु जिल्ला संयोजक नरसुर बुमी, पिएन जिल्ला उपाध्यक्ष आस्था नेपालीलगायत देशैभरिबाट दर्जनौं कमरेडहरुलाई राजनैतिक आस्थाको आधारमा गैह्रन्यायीक रुपमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएकोप्रति हाम्रो संगठन घोर भत्र्सना र निन्दा गर्दछ । हामी यो सामाजिक दलाल फासिवादी सरकारलाई चुनौति दिन चाहन्छौं कि तिम्रो यो अन्यायपूर्ण, जनविरोधी, राष्ट्रघाती, भ्रष्ट र फासिवादी राज्य व्यवस्थाका जुनसुकै प्रकारका दमननका अगाडि हामी कदापी झुक्ने छैनौं । वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको हाम्रो महान् लक्ष्य प्राप्तिको जनक्रान्तिमा हाम्रो संगठन अनवरत अगाडि बढ्नेछ ।’ भनिएको छ ।
‘हामी सामाजिक दलाल फासिवादी केपी–पिके सरकार र रामबहादुर गृह प्रशासनलाई देशैभरीबाट गैह्रन्यायीक गिरफ्तार गरिनु भएका हाम्रो संगठनका सबै कमरेडहरुलाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न जोडदार माग गर्दछौं । ‘हाम्रा यी न्यायपूर्ण आन्दोलनका कार्यक्रमहरु सफल पार्न सहयोग गरिदिनुहुन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशिल जनसमुदायहरु र आम युवा विद्यार्थीहरुलाई आग्रह पनि गर्दछौं । यो संघर्षबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं यो सामाजिक फासिवादी सरकार हुने विषय पनि स्पष्ट पार्दछौं ।’ विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *