मिडिया काउन्सिल विधेयक संसदमा पास हुन नदिने देउवाको दावी

गोरखा, २७ जेठ । प्रेस स्वतन्त्रता हनन हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक संसदमा कुनै हालतमा पास हुन नदिने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन । कांग्रेसको गोरखा नगर कार्यसमितिले आइतबार गोरखामा गरेको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गरेको बताएका छन । मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगमाथि हस्तक्षेप तथा गुठी विधेयक ल्याएर जनताको अधिकारमाथि हस्तक्षेप गरिराखेकोले अब आन्दोलन गर्ने उनले बताए ।‘ जनताका प्रजातान्त्रिक अधिकार खोस्ने गरी आएका विधेयकहरू कुनै पनि पास हुन दिँदैनौं,’। देउवाले भने, ‘सदनबाट नभए सडकबाट पनि आन्दोलन गर्छौं ।’उनले स्वदेशी लगानीमा बनाउन संभव हुँदाहुँदै सरकारले बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिएको बताए ।‘बूढीगण्डकी आयोजना नेपालीहरूले नै बनाउन सक्छन, नेपालीकै शेयरले बनाउन सकिन्छ,’ उनले भने, ‘सरकारले कमिसन र हचुवाका भरमा चिनियाँ कम्पनीलाई दियो। अहिले आयोजना अन्यौलमा परेको छ ।’ देउवाले वर्तमान सरकारले प्रचारको कामबाहेक केही नगरेको आरोप लगाएका छन् । उनले सरकारले सबैको अधिकार खोसेको दावी गरे ।‘ओली सरकार आएपछि बर्बाद भयो, सबै ठाउँमा बिगारेको छ, सबैको अधिकार खोसेको छ, प्रचारको कामबाहेक केही भएको छैन,’ उनले भने ।सरकारले अख्तियार, मानवअधिकार आयोग जस्ता संवैधानिक निकायको अधिकार खोस्ने र प्रेसलाई नियन्त्रणमा राख्न खोजेको देउवाले आरोप लगाए । ‘यिनीहरु भनेको सरकारले गरेको बदमासीलाई खबरदारी गर्ने स्वतन्त्र निकाय हुन,’ उनले भने, ‘तर ओली सरकारले यी क्षेत्रको अधिकारमाथि हस्तक्षेप गरिरहेको छ । भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरवार पुनर्निर्माणमा ढिलाइ भएको भन्दै उनले आपत्ति जनाए । ओली सरकारले गरेका गल्तीहरु सुधार नगरे सडक आन्दोलन गर्ने देउवाले चेतावनी दिए ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए । विप्लवलाई शान्ति प्रक्रियामा ल्याउन नसकेको भन्दै उनले ओली सरकार आलोचनाको पात्र मात्र बनेको जिकिर गरे । ‘उही गोत्र, उही सिद्धान्त बोकेर हिँडेको विप्लवको एउटा कम्युनिष्ट पार्टीलाई विश्वासमा लिन नसक्ने अनि ठुलो गुड्डी हाँक्दै हिँड्ने,’ प्रधानमन्त्री ओलीलाई शर्माले प्रश्न गरे ।प्रचण्डलाई मारेर विप्लवले भनेजस्तो गणतन्त्र नआउने भन्दै रगत बगाउने काम छाडेर शान्ति प्रक्रियामा आउन विप्लवलाई उनले आग्रह गरे । वाइडवडी र वालुवाटारको जग्गा काण्डमा कांग्रेसलाई अनावश्यक मुछेको भन्दै उनले दोषी भए कारवाही भोग्न तयार भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *