कोरियन भाषाको नतिजा असार १३ गते सार्वजनिक हुने

काठमाण्डौ, २७ जेठ । कोरियन भाषा परीक्षाको नतिजा असार १३ गते सार्वजनिक गरिने ईपीएस कोरिया शाखाले जनाएको छ । । शनिबार र आइतबार दशौं कोरियन भाषा परीक्षा भएको थियो । ९२ हजार ३ सय ५६ जनाले आवेदन दिएकोमा ८४ हजार २ सय १५ जना मात्रै परीक्षामा उपस्थित भएका छन । यस वर्ष कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी गरी जम्मा १० हजार ५ सय परीक्षार्थी भाषा परीक्षामा छनोट हुनेछन् । कोरियन भाषा परीक्षामा अनियमित कार्य गर्ने १५६ जना पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिन खोज्ने १५६ जना पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकरण भण्डारीले जानकारी दिए । यस्तै भाषा परीक्षाका लागि आवेदन दिएकामध्ये ८ हजार १ सय ४१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीको दोस्रो चरणमा सीप परीक्षण हुने छ । सीप परीक्षणमा उत्तीर्ण हुनेले मात्र कोरियाको रोजगारीका लागि आवेदन दिन पाउनेछन् । त्यसमध्येबाट सीप परीक्षणमा कति छनोट गर्ने भन्नेबारे टुंगो लाग्न बाँकी रहेको शाखाका प्रवक्ता भण्डारीले बताए । आउँदो असार १३ गते नतिजा प्रकाशन गर्ने र त्यही बेला नै दोस्रो चरणको सीप परीक्षणको परीक्षा कहाँ र कसरी हुने भन्ने जानकारी दिइने उनको भनाई छ । भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् ।रोजगारीका लागि एक सम्भावित व्यक्ति भए पनि कोरियाका रोजगारदाताको छनोटमा पर्नेले मात्र रोजगारीको अवसर प्राप्त गर्नेछन् । परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेण्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *