ओखलढुङ्गा, २७ जेठ (रासस) । माम्खामा ‘चिशङ्खुगढी प्रथम अध्यक्ष कप खुला पुरुष भलिबल’ प्रतियोगिता शुरु भएको छ । चिशङ्खुगढी गाउँपालिकाको आयोेजनामा पालिकास्तरीय भलिबल आइतबारदेखि प्रारम्भ भएको हो । प्रतियोगितामा सांसद यज्ञराज सुनुवारले उद्घाटन गरे । उनले खेल क्षेत्रको विकासले स्वस्थ्य नागरिक र दक्ष खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगितामा ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङका आठ टोलीको सहभागिता रहेको प्रतियोगिताका संयोजक नरेन्द्र बस्नेतले जानकारी दिए । माम्खा माविको खेल मैदानमा सञ्चालन भएको उक्त प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेताले रु एक लाख ५१ हजार १११, उपविजेताले रु एक लाख एक हजार १११, तृतीय हुनेले रु ५१ हजार १११ तथा सान्त्वना हुने टोलीले रु २५ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् ।