वार्ताका माध्यमबाट विप्लवलाई राजनीतिक मूलधारमा ल्याउन माग

काठमाडौं, २४ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई दमनबाट होइन, वार्ताका माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनुपर्ने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन् । बिहीबार नेमकिपाले भक्तपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सीके राउतसँग वार्ता गर्ने अनि विप्लवलाई प्रतिबन्ध लगाई लखेट्नु नहुने सुझाव दिए । बिजुक्छेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बहुमत ल्याएर सरकार निर्माण गरे पनि उदाहरणीय एवम् समाजवादी काम गर्न नसकेको आरोपसमेत लगाएका छन् । संविधानमा उल्लेख भएको प्रावधानअनुसार सरकारले समाजवादी काम गर्न नसकेको बताए । उनले सरकारले प्रस्तुत गरेको बजेट समाजवादको विकासभन्दा पुँजीवादलाई बलियो बनाउने प्रकृतिको रहेको बताउँदै अमेरिकाले कानुनी र गैरकानुनी रूपमा अन्य देशहरूमाथि हस्तक्षेप गरिरहेको भनाइ राखेका छन ।
यसैगरी पार्टीले लिएको ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि बाधक भएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका एक नेताले राजीनामा दिएका छन् । सप्तरी जिल्ला ३ नं एरिया इञ्चार्ज छिन्नमस्ता गाउँपालिका–१ का ४० वर्षीय तेजनारायण यादव ‘रञ्जित’ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन । सरकारले लिएको वार्ता र संवादबाट सबै समस्याको हल हुन्छ भन्ने नीतिअन्तर्गत पार्टी वार्तामा नआउनु देश र जनताका लागि घातक सिद्ध हुने भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हतियार सबै समस्याको हल नभएको हुँदा २०७३ सालदेखि नेकपा विप्लवको ३ नं एरिया इञ्चार्जको पदमा कामकाज गर्दै आएकामा आजैको मितिदेखि पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिई स्वतन्त्र नेपाली नागरिकका रुपमा जीवनयापन गर्न चाहेको छु ।’ अब उप्रान्त उक्त पार्टीसँग आफ्नो कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नरहने समेत प्रेस विज्ञप्तिमा जनाइएको छ । सरकारले ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । पार्टी प्रतिबन्धपछि सप्तरी प्रहरीले विप्लव समूहका एरिया इञ्चार्ज ‘रञ्जित’ लाई चैत ११ गते पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *