नुवाकोट गोल्ड कप फुटबल सङ्कटा क्लब विजयी

नुवाकोट, २४ जेठ (रासस) । दोस्रो नुवाकोट गोल्ड कप फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा सङ्कटा क्लब विजयी भएको छ । सङ्कटाले चितवन–११ लाई २–१ गोलले पराजित गरेको हो । बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा सङ्कटा क्लबका लागि मेसायुके पिर्रेले खेलको ३४औँ मिनेट तथा कोने बोन्सले ६४औँ मिनेटमा गोल गरेका थिए । यस्तै चितवन–११ का लागि खेलको ७०औँ मिनेटमा सुरेश कुमालले सान्त्वना गोल गरे । कुमाल म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे । जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा नुवाकोट–११ सहित नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ्, च्यासल युथ क्लब र विजयी युथ हेटौँडाको सहभागिता रहेको नुवाकोट फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।शुक्रबार आयोजक नुवाकोट–११ र विजयी युथ हेटौँडाबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले रु छ लाख तथा उप–विजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता यही जेठ १३ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *