सडक दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ, जेठ १७ ,। नवलपरासी र दाङमा सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नवलपरासी देवचुली नगरपालिकामा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ भने अन्य २३ जना घाइते भएका छन् । दुर्घटनामा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका–१४ की ६५ वर्षीया कुमारी सुनारी, गैँडाकोट नगरपालिका–१८ की ७० वर्षीया जमुना मापछनको र नाम ठेगाना नुखुलेकी अन्दाजी ३५ वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका २ हमाल चोकमा ना ४ ख ५२९५ नम्बरको बस र ना २ ख ४८९० नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परेका दुई जनाको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो । दुर्घटनामा परेर घाइते भएका एक जनाको पुरानो मेडिकल कलेज, १३ जनाको मनकामना अस्पताल चितवन, ८ जनाको नयाँ मेडिकल कलेज भरतपुर र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी दाङको तुलसीपुरमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा रा२प १९१७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१२ बेलटाकुराका २७ वर्षीय भक्तबहादुर पुनको मृत्यु भएको हो । तुलसीपुर–६ लक्ष्मीनारायण मन्दिर नजिक तुलसीपुरबाट बेलटाकुरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक पुन गम्भीर घाइते भएका प्रहरीले बताएको छ ।राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही बताए ।
उनका अनुसार मोटरसाइकलमा पछाडि बसेका सुकौराका देवु दहितको भने एउटा खुट्टा भाँचिएको छ । ट्रयाक्टरका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *