कहीँकतैबाट प्रेसमाथि अङ्कुश लगाउने काम राम्रो होइन ः नेपाल

काठमाडौँ, १२ जेठ । प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट प्रेसमाथि अङ्कुश लगाउने काम राम्रो नभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन । प्रेस सङ्गठनले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताए । उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए । उनले भने, “विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन, विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस, यसलाई सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्छ ।”उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले भने, “सबैलाई अपनत्व महसुस हुनेगरी विधेयक ल्याउँदा त्यसले सरकारका काम कारवाहीमा अझ लोकप्रियता बढ्छ ।” यस्तै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पष्ट पारे । उनले भने, “जनताका बीचमा राम्रो काम गर्नुस, जनतामा चेनता जगाउनुस, तर हरियार देखाएर जनतालाई तर्साउने काम नगर्नुस् ।” एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारका विरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी हुनै नसक्ने उनले दाबी गरे । एक अर्को प्रसङ्गमा उनले तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न बजेटका बारेमा विस्तृत छलफल गरेर जनताले नयाँ कुराको अनुभूति गर्नेगरी सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिए । परम्परागत ढङ्गले बजेट ल्याइए त्यसले जनआकांक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *