सडक दुर्घटनामा परि १३ जनाको मृत्यु ,३३ जना घाइते

काठमाडौं, ६ जेठ । धादिङ, बैतडी र चितवनमा भएको सडक दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ बन्छेटारस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा ज्यान जानेको संख्या आठ पुगेको छ । काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना.७. ख ४३८७ नम्बरको रात्रीबस आइतबार दुर्घटनामा परेको थियो । बस सडकबाट ३० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रत्यक्षदर्शीका अनुसार बसले सडक छेउको फलामेतारबार भत्काएर बल्ड्याङ खेल्दै नदीमा खसेको थियो । दुर्घटनामा परी इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, चन्द्रागीरी नगरपालिका बस्ने ३५ वर्षीया सिता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी र धादिङ वेनिघाट रोराङका राजन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ। यसैगरी दुर्घटनामा परी मृत्यु हुनेहरूमा प्रकाश श्रेष्ठ र शेखर मगरको भने ठेगाना खुल्न सकेको छैन भने अन्य दुई जनाको सनाखत हुन नसकेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा २९ जना घाइते भएकोमा १४ जनाको अवस्था चिन्ताजनक रहेकोमा उनीहरूलाई उद्धारपछि तत्काल काठमाडौं पठाइएको थियो भने बाँकी घाइतेहरूलाईस्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि काठमाडौं पठाइएको छ । घाइतेहरूको गजुरी, आदामघाट र गल्छीमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । दुर्घटनाको खबर आएलगत्तै शशस्त्र प्रहरी वल, नेपाल प्रहरी, नेपाली सेना, राजमार्ग उद्धारकर्मी, रेडक्रसकर्मी र स्थानीयवासीले घाइतेहरूको उद्धार सुरू गरेका थिए भने धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार वैदवार लगायतका सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमा पुगेका थिए । बस अत्यधिक गतिका रहेका कारण उकालोबाटोमा एक्कासी अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
यसैगरी बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् । देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । ज्यान गुमाउनेमा दशरथचन्द नगरपालिका(१०, बाराकोटका अन्दाजी ४५ वर्षका हिराबल्लभ भट्ट, त्यसै ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट र अन्दाजी ६० वर्षका लालमणि भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नेत्रमणि गिरीले जानकारी दिए । घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी दिए ।
यस्तै चितवनमा आइतबार छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–८ गोँगबुका ३० वर्षीय अनुप खड्काको मुत्यु भएको हो । गम्भीर घाइते खड्काको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै आजै नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर–२९ सत्रकिलोमा दुई मोटरसाइकल ठोक्किदा काठमाडौँ महानगरपालिका–५ का शेखर नगरकोटीको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढततर्फ आउँदै गरेको बा ६३ प १४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।सडकमा पल्टिएको मोटरसाइकलमा सोही दिशाबाट आउँदै गरेको ग १३ प ८५९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा घाइते नगरकोटीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बा ६३ प १४५८ नम्बरको मोटरसाइकलमा सवार सोलुखुम्बुको सल्लेरी नगरपालिका–७ का २५ वर्षीय सुशील घतानी घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *