दाङ, जेठ ६ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला इञ्चार्ज जयबहादुर रोकासहित ३ जना पक्राउ परेका छन् । थवाङ गाँउपालिका वडा नं. २ निवासी ५२ वर्षीय जिल्ला इञ्चार्ज जयबहादुर रोका (प्रताप), लुंग्री गाउँपालिका वडा नं. १ निवासी ४२ वर्षीय लुंग्री र सुनछहरी गाँउपालिकाका इञ्चार्ज धनबहादुर खत्री (टाइगर) र लुंग्री गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय ईलाका इञ्चार्ज भुपेन्द्र खड्का (गोरे)लाई हतियारसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूबाट एक थान नकटुवा पेस्तोल, ३०३ साइफलको १४ रोउन्ड गोली, अन्य गोली ११ राउन्ड (कुन हातहतियारको हो ? नखुलेको), २ थान सकेट बम, एक थान खुकुरी बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसी दीपक खड्काले जानकारी दिए।उनीहरूलाई लुंग्री गाउँपालिका वडा नं. १ बाट पक्राउ गरिएको डिएसपी खड्काले बताए। पक्राउ परेकाहरूविरूद्ध जिल्ला अदालतबाट ५ दिने म्याद थप गरी संगठित अपराध निवारण ऐन २०७४ अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान सुरू भएको प्रमुख खड्काले जानकारी दिए। उनीहरूलाई ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा बाट खटिएको प्रहरी सहायक निरिक्षक राजेन्द्रकुमार रानाको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोप्य सूचनाको आधारमा प्रक्राउ गरेको थियो ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्ला इन्चार्ज दौलत र सेक्रेटरी कालु पाण्डेले जेठ ५ गते एक विज्ञप्तिमार्फत सरकारलाई कडा चेतावनी दिएका छन् ।‘वर्तमान फाँसीवादी दलाल सरकारले जनताको हक अधिकारमाथि एक पछि अर्को गर्दै धावा बोलिरहेको छ । जनसाधारणदेखि हाम्रो पार्टीका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गर्ने, शारीरीक तथा मानसिक यातना दिने झुटा मुद्दा लगाउने कार्य गरिरहेको छ । यो प्रकारका अमानवीय क्रियाकलाप बन्द गरी, स्वतन्त्र एवम् सम्मानजनक रूपमा बाँच्न पाउने, शान्तिपूर्ण रूपमा सभा सम्मेलन तथा राजनीतिक क्रियाकलाप गर्न पाउने अवस्थाको सुनिश्चित गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।यही जेठ ३ गते डोटी जिल्ला सचिवालय सदस्य प्रकाश थापालाई बड्डी केदार गाउँ पालिका ५लानाकेदारेश्वर भाउरा स्थित आफ्नै घरमा बसिरहेको बेला कथित जनप्रतिनिधिको सुराकीको आधारमा प्रहरीले गिरफ्तार गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । जनप्रतिनिधीहरुले जनता र जनपक्षीय पार्टीका नेता कार्यकर्ताको सुराकी नगरी जनसत्तालाई सहयोग गर्न अनुरोधसमेत विज्ञप्तिमार्फत गरेका छन । ‘जनतालाई विभिन्न प्रलोभन र बाँडेका आश्वासन पुरा गर्न नसक्ने र जनतालाई सुशासन दिनुको साटो आफ्नै सेवा सुविधा मात्रै थप्नमा लाग्ने, भ्रष्टाचारमा चुर्लुम्म डुबेका कथित जनप्रतिनिधिहरू जनपक्षीय पार्टी र नेता कार्यकर्ताहरूको सुराकी गर्ने कार्य गरेमा निजहरुलाई निकै महंगो सावित हुनेछ । साथै पक्राउ गरिएका प्रकाश थापा लगायतका सम्पूर्ण नेता कार्यकर्ताहरूको अविलम्ब रिहाईको लागि जोडदार माग गर्दछ । अविलम्ब रिहा नगरिएमा हाम्रो पार्टी कडा संघर्षमा जान बाध्य हुने कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।