भियतनाम र कम्बोडियाको भ्रमण गरी प्रधानमन्त्री ओली स्वदेश फर्कदै

काठमाडौँ, ३१ वैशाख । भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री जेठ १ गते स्वदेश फर्कन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन । प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उपयुक्त लगानी वातावरणका लागि नीतिगत स्थिरता, स्पष्ट नियामक ढाँचा, विधि र प्रक्रियामा सरलता, बजारको उपलब्धता र पहुँच तथा आकर्षक प्रोत्साहनजस्ता प्रावधान रहेको बताएका छन । नेपाल–कम्बोडिया व्यवसाय मञ्चलाई मंगलबार सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक स्थिरता प्राप्त भएकाले नीतिमा स्थायित्व र एकरुपता भएको स्पष्ट गरे । प्रधानमन्त्रीले पूर्वाधरलगायत क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सार्वजनिक– निजी साझेदारी र लगानी ऐन लागू गरिएको बताउँदै नेपालमा लगानीकर्तालाई सहजताका लागि सरल र सहज विधि एवं प्रक्रिया रहेको तथा भारत र चीनजस्ता ठूला बजार यससँग जोडिएको जानकारी दिए । नेपाल सार्क र बिम्स्टेकजस्ता दुई ठूला क्षेत्रीय सङ्गठनको सक्रिय सदस्य रहेको र अल्पविकसित मुलुक हुनाको नाताले क्षेत्रीय बजार पहुँचका लागि केही निश्चित फाइदा रहेको उनले उल्लेख गरे । “ नेपालको जुनसुकै क्षेत्र पनि लगानीका लागि निश्चित प्रतिफल पाइने क्षेत्र हो । कृषि, खनिज स्रोत, जडीबुटी, पर्यटन उद्योग र वित्तीय बजारजस्ता क्षेत्रमा लगानीका लागि अवसरहरु छन”, प्रधानमन्त्रीले भने । नेपालले हालै लगानी सम्मेलन गरेको र त्यसमा ४० राष्ट्रका प्रतिनिधि सहभागी भई ठूला १८ परियोजनामा वित्तीय लगानी गर्न प्रतिबद्धता आएको जानकारी दिए । सोही कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विदेशमा लगानी गरिरहेका कम्बोडियाका उद्योगपति र व्यवसायी समूहहरुलाई नेपाललाई प्राथमिकता दिन आग्रह गरे ।उनले कम्बोडियामा लगानीका लागि नेपाली लगानीकर्तालाई उपयुक्त वातावरण सिर्जना गरिने विश्वास दिलाउँदै कम्बोडियालीहरुलाई नेपाल, विशेषगरी लुम्बिनीमा भ्रमण गर्न अनुरोध गरेका छन । उनले बौद्धमार्गी भएको नाताले कम्बोडियालीले शाक्यमुनि गौतमबुद्धको जन्मस्थल र बौद्धदर्शनको मुहान लुम्बिनीमा भ्रमण गर्न सक्ने औँल्याउँदै सोही स्थलमा अन्तर्राष्ट्रिय वैशाख दिवस मनाउन सम्बन्धित निकायहरुमा परामर्श गरिने जानकारी दिए । उनले भने, “म प्रधानमन्त्री सामदेक हुन सेनलाई हाम्रो प्रयासमा सहयोग गर्न र आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न आग्रह गर्दछु ।” नेपालले कम्बोडियाको तीव्र आर्थिक विकास र समृद्धितिरको निरन्तर यात्राबाट धेरै कुरा सिक्न सकिने विश्वास पनि उनले व्यक्त गरेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *