रामेछाप र रुकुमका इञ्चार्जसहित ४ जना पक्राउ

काठमाडौँ, ३१ वैशाख । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जना नेता पक्राउ परेका छन । रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ र रामेछाप जिल्ला जनपरिषदका प्रमुख वीरबहादुर मोक्तान (विवेक)सहित ४ जना नेता पक्राउ परेका हुन । रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’लाई रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले मंगलबार जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायलाबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ गरेको प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन ।
यसैगरी रामेछाप जिल्ला जनपरिषदका प्रमुख वीरबहादुर मोक्तान (विवेक)लाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई भक्तपुरबाट वैशाख २७ गते साँझ ५ः३० बजे गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी रामेछापले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेकपा रामेछापका सेक्रेटरी अभिलाषले वैशाख २९ गते प्रेस विज्ञप्ति जारी गरी विरोध गरेका हुन् । उनले केही महिना अगाडि गिरफ्तार परेका आफ्नो पार्टीका रामेछाप इन्चार्ज यादव ढुंगेल (जमिन) र जिल्ला जनपरिषदका प्रमुख वीरबहादुर मोक्तान (विवेक)लाई प्रहरीले गिरफ्तार गरी अनावश्यक झुट्टा मुद्दा लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । सेक्रेटरी अभिलाषले गिरफ्तारीमा परेकाहरुलाई बिनासर्त रिहाइको जोडदार माग गरेका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो सदस्य तथा युवा सङ्गठनका केन्द्रीय सदस्य राजन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई सङ्गठनको कामको शिलशिलामा रहेको अवस्थामा वैशाख २५ गते बिहान बर्दिबासबाट गिरफ्तार गरेको नेकपा जनकपुरले जनाएको छ । नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले वैशाख २६ गते प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त गिरफ्तारीको विरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य क. राजन बस्नेतलाई प्रहरीले गिरफ्तार गरेको छ । उहाँलाई सङ्गठनको कामको शिलशिलामा रहेको बेला २०७६ वैशाख २५ गते बिहान बर्दिबासबाट गिरफ्तार गरिएकोमा वर्तमान सरकारको यसप्रकारको गैर राजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ साथै तत्कालै ससम्मान रिहाइको जोडदार माग गर्दछ । शान्तिपूर्ण तरिकाले सञ्चालित राजनीतिक कार्यक्रममाथिसमेत राज्यद्वारा गरिएको हस्तक्षेप, गिरफ्तारी र जनदमनले राज्यको फाँसीवादी चरित्र उदाङ्गो हुँदै गएको छ । सरकारले यस्ता प्रकारका सबै हर्कत समयमै बन्द गरोस् । गिरफ्तार कमरेडलाई तत्काल रिहा गर्ने काम गरोस् अन्यथा त्यस विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौँ ।’
यसैगरी जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले मंगलबार राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए । पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पु¥याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) चितवनले चितवनका निजी शैक्षिक संस्थाहरूमा विरोध स्वरूप कालो ब्यानर राखेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषय र शुल्क वृद्धिको पनि खारेजी माग गर्दै उक्त संगठनले चरणबद्ध सङ्घर्षका कार्यक्रम अन्तर्गत चितवनमा ब्यानर राखेको हो । अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष ढकालको रिहाइको लागि सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । भट्टले बैशाख २९ गते देशभर विरोधसभा, जेठ १ गते विरोध प्रदर्शन, जेठ ४ गते मशाल जुलुस र ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेका छन् ।यसै कार्यक्रमसँगसँगै चितवनका शैक्षिक संस्थामा भएको शुल्क वृद्धिको पनि खारेजीको माग गर्दै चितवनमा चरण बद्ध संघर्षको कार्यक्रमहरू शुरू गरिएको अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिका अध्यक्ष रमेश लामिछानेले बताएका छन । चितवनका शैक्षिक संस्थाले शुल्क वृद्धि खारेज नगरे जस्तो सुकै संघर्षको कार्यक्रम गर्न तयार रहेको लामिछानेले चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *