मानव तस्करी रोक्न अध्यागमनमा कडाइ

काठमाडौँ, १ जेठ । मानव तस्करहरुले भारत हुँदै तेस्रो मुलुक नेपालीहरूलाई लानथाले पछि भारतीय अध्यागमनमा नेपालीहरूलाई कडाइ गरिएको छ । भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरूले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागू भएको छ । दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरूलाई एनओसी बनाउन भन्दै मंगलबार सूचना प्रकाशित गरेको छ । दूतावासबाट एनओसी बनाउनका लागि तेस्रो मुलुक जानुपर्ने मनासिब कारणसहित निवेदन दिनु पर्नेछ । साथै यात्रा गर्ने व्यक्तिको राहदानी र प्रतिलिपि, यात्रा गर्ने देशको भिसा र हवाई टिकटको प्रतिलिपि पनि दूतासावसमा बुझाउनु पर्नेछ।रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृतिको प्रतिलिपि पनि दिनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै यसअघि भारतबाहेकका तेस्रो मुलुकहरूको भ्रमण गरेको भए यात्रा अभिलेखको प्रतिलिपि बुझाउनु पर्नेछ । हाल भारतमा अध्ययन तथा व्यवसाय गरिरहेका नेपालीको हकमा भने अध्ययन वा व्यवसायसँग सम्बन्धित परिचयपत्र वा कागजपत्र देखाउनु पर्नेछ । पछिल्लो समय भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करीको सङ्ख्यामा वृद्धि भएसँगै भारतले नेपालीमाथि अध्यागमन पार गर्न कडाइ गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *