११ विद्यार्थी संगठनद्वारा सरकारलाई २४ घण्टे अल्टिमेटम,जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा

काठमाडौं, २९ वैशाख । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट
अखिल (क्रान्तिकारी)ले जेठ ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तारीको विषयलाई लिएर चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो ।सङ्गठनका उपाध्यक्ष रुद्र भट्टराईले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर अध्यक्ष ढकालको रिहाइको लागि सङ्घर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् । भट्टले बैशाख २९ गते देशभर विरोधसभा, जेठ १ गते विरोध प्रदर्शन, जेठ ४ गते मशाल जुलुस र ५ गते आम शैक्षिक हड्तालको घोषणा गरेका छन् । शुक्रबार प्रहरीले पत्रकार सम्मेलनबाटै सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेको थियो । यसअघि ११ विद्यार्थी सङ्गठनहरुले पनि ढकालको रिहाइको लागि २४ घण्टे अल्टिमेटम दिएको थियो । रिहाइ नगरे देशव्यपी सङ्घर्षका कार्यक्रम घोषणा गर्ने ११ विद्यार्थी नेताहरुले संयुक्त विज्ञप्तिमार्फत बताएका छन् । उनीहरुले शुक्रबार साँझ विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।सरकारले पञ्चायतकालको झझल्को दिने गरी विद्यार्थी संगठनका राजनैतिक तथा शैक्षिक गतिविधिमा प्रतिबन्ध लगाएको भन्दै विद्यार्थी संगठनहरुले रिहाईको माग गरेका छन् ।‘पञ्चायतकालमासमेत सरकारले विद्यार्थी संगठनका राजनीतिक एवं शैक्षिक गतिविधिमाथि प्रतिबन्ध गरेको थिएन, केपी ओली नेतृत्वको सरकारले फाँसीवादी शैलीमा गैरन्यायिक तवरले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाललाई पत्रकार सम्मेलन गरिरहेकै स्थान युनियन हाउसबाट प्रहरीले गिरफ्तार गर्नुले सरकारको तानाशाही प्रवृत्ति स्पष्ट हुन्छ । सो कार्यको ११ विद्यार्थी संगठन घोर विरोध एवं भत्सर्ना गर्दछ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।विद्यार्थी संगठनहरुले अध्यक्ष ढकाललाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटमसमेत दिएका छन् । रिहाई नगरे सशक्त संघर्षमा जाने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ । साथै, सरकारका यस्ता गतिविधिविरुद्ध संघर्षमा उत्रिन विद्यार्थीहरुलाई अपिलसमेत गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाललाई प्रहरीले शुक्रबार अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको थियो ।
यसैगरी रुकुम पश्चिममा नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंहलाई गृह प्रशासनले शुक्रबार गिरफ्तार गरेको छ । धनगढी उप–महानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क बृद्धिको विरोध गरिरहेका बेला सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *