ताप्लेजुङ,२६ बैशाख । ताप्लेजुङ तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ । विभागीय डर्बी फाइनलमा बिहीवार त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो । ताप्लेजुङको नारायणी माविमा भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्दी आर्मीलाई ३–० को सेटमा पराजित गरेको हो ।पुलिसले आर्मीलाई २५–१९, २५–१७, २५–१३ को सेटमा हरायो।पुलिसले आर्मीलाई यस वर्ष लगातार दोस्रो प्रतियोगिताको फाइनलमा हराएको हो। बैशाखको सुरुमा नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । च्याम्पियन पुलिसले ३ लाख ५१ हजार ५ सय रुपैयाँ पुरस्कार पाउँदा उप विजेता आर्मीले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँमा चित्त बुझायो ।