अवैध सुनसहित एक जना पक्राउ

मकवानपुर, २७ बैशाख । अवैध सुनसहित एक जनालाई प्रहरीले हेटौंडाको रातोमाटेबाट पक्राउ गरेको छ । मकवानपुर प्रहरीले एक केजी ६ सय ४९ ग्राम ८ सय ९० मिलिग्राम अवैध सुनसहित एक जनालाई हेटौंडाको रातोमाटेबाट बिहीबार पक्राउ गरेको हो । काठमाण्डौबाट वीरगन्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्ने क्रममा सुनसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । सुनसहित भोजपुर षडानन्द नगरपालिका वडा नम्बर ४ वस्ने २९ वर्षीय किशोर बिकलाई पक्राउ गरिएको छ । उनको दुवै खुट्टाको जुत्ताभित्र पैतालामुनि केही सुनका पाता राखेका थिए । अरु केही सुन उनले लगाएको पाइन्टको खल्तिमा राखेर निकासी गर्न लागेका थिए । निकासी गर्न लागिएको सुन भन्सार छली अवैध रुपमा ल्याइएकोले बरामद गरिएको सिंहले पत्रकार समेतलनमा जानकारी गराए । आजको बजार दर अनुसार ८५ लाख ८६ हजार २६ रुपैयाँ मूल्य पर्ने सुन बरामद गरिएको हो । पक्राउ परेका बिक र सुनको थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पथलैयामा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *