महिलालाई राज्यको मूल प्रवाहबाट वञ्चित गरेर राष्ट्र समृद्ध हुन नसक्ने, महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न देउवाको माग


काठमाडौँ, २७ बैशाख । आधा आकाश ढाकेका महिलालाई राज्यको मूल प्रवाहबाट वञ्चित गरेर राष्ट्र समृद्ध हुन नसक्ने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन । नेपाल महिला सङ्घले विहीबार वीरगञ्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले ३३ प्रतिशत नभई अब महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्ने माग गरेका छन । राज्यको सम्पूर्ण अङ्गमा महिलाको समान सहभागिता भएपछि मात्र राष्ट्र समृद्ध हुने धारणा व्यक्त गरेका छन । सभालाई सम्बोधन गर्दै सभापति देउवाले मुख्य प्रतिपक्षि दलको विरोधका बाबजुद दुई तिहाईको दम्भमा सरकारले नीति तथा कार्यक्रम पास गरेको आरोप लगाए । उनले सरकारको नीति तथा कार्यक्रमका सन्र्दभमा नेपाली काङ्ग्रेसले राखेको फरक मत तथा विरोधलाई वास्ता नै नगरी सरकराले प्रजातान्त्रिक पद्धतिलाई कमजोर पर्ने कमा गरेको दाबी गरे । नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु रमेश रिजाल, फरमुलाह मन्सुर, डिना उपाध्याय लगायतका वक्ताले महिलामाथि बढ्दै गएको हिंसाको घटना प्रति चिन्ता व्यक्त गरेका थिए ।
यसैगरी, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान शुरु गरिएको बताएका छन ।काङ्ग्रेस इच्छाकामना गाउँपालिकाले विहीबार आयोजना गरेको कार्यकर्ता भेलामा नेता थापाले कार्यकर्ताको मनोबल उच्च बनाउन र एकता कायम गर्नका लागि जागरण अभियान महत्वपूर्ण हुने बताएका छन । काङ्ग्रेस इच्छाकामना गाउँपालिकाका संयोजक विष्णु कुँवर, काङ्ग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ्, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्, काङ्ग्रेस नेता सावित्री पुडासैनी, हिरा गुरुङ्, रामबहादुर लामालगायतले जागरण अभियानबारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थानीय नेता जीतबहादुर रानासहित १६८ जना काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिएका छन ।
यस्तै,नेपाली काङ्ग्रेसले जागरण अभियान नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बुधबारदेखि देशभरी शुरु भएको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानले काङ्ग्रेसलाई ऊर्जा मिलेको बताए । “कार्यक्रमको नवीन स्वरूपको कार्यान्वयनमा कतिपय जिल्लाले शुरुआती अप्ठ्यारो अनुभूत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको छ”,उनले भने । उनले हिमालदेखि तराईसम्मका अधिकांश जिल्ला जागरण अभियान एकैसाथ सञ्चालन भए पनि मोरङ, इलामलगायतका जिल्लामा व्यावहारिकताका कारण आजदेखि अभियान प्रारम्भ गरिएको बताए । प्रवक्ता शर्माले कार्यक्रम स्वरूपको ठोस परिवर्तनले सकारात्मक सन्देश प्रवाह गरेको भन्दै यससम्बन्धी आवश्यक छलफल र सार्थक बहस प्रारम्भ भएको उल्लेख गरे । “उद्घाटन कार्यक्रमको अभिव्यक्तिमार्फत ‘पार्टीलाई नवीन सन्दर्भमा नवीन ढङ्गले सुदृढ गर्दै, वर्तमान सरकार गरेका गल्ती कमजोरी औँल्याउन पार्टी शीर्ष नेतृत्व एवं केन्द्रीय प्रतिनिधिबाट एउटै स्वर र भावना प्रकट भएको छ”, उनले भने । उनले पार्टीको स्थानीय निकाय हुँदै आमजनता समक्ष सम्प्रेषण गर्ने क्रममा दोस्रो दिनबाट अभियान क्षेत्र र गाउँ–नगर तहमा प्रविष्ट भएको बताए । उनले जागरण अभियानलाई सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *