विचार र सिद्धान्त मिल्ने दललाई एकताको लागि अपील


काठमाडौं, २७ वैशाख । समाजवादी पार्टी नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) सहित विचार र सिद्धान्त मिल्ने दल एवं संगठनहरूलाई एकताको लागि अपील समेत गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहिबार बसेको पहिलो पदाधिकारी बैठकले यस्तो अपील गरेको हो । त्यसका लागि पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । वार्ता समितिमा सदस्यमा पर्शुराम खापुगं, नवराज सुवेदी र रामसहाय यादव रहेका छन् । पदाधिकारी बैठकले पार्टी एकताको सन्देश दिन र अगुवा नेतृत्वलाई प्रभावकारी बनाउन देशको आठ वटा सहरमा भव्य कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले आठ वटै सहरमा संयुक्त रूपमा सम्बोधन गर्ने गरी कार्यक्रम तय गरेको केन्द्रीय सचिव प्रकाश अधिकारीले जानकारी दिए । यही वैशाख २३ गते संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नवगठित समाजवादी पार्टी नेपाल बनेको थियो । दुवै पार्टीको केन्द्रदेखि स्थानीय वडासम्मै एकीकरण प्रक्रिया टुंगो लगाउन पाँच दिनभित्र समायोजन निर्देशिका तयार गर्न समिति गठन गरेको छ । समितिमा हेमराज राई, रेणु यादव, गंगा श्रेष्ठ, रामसहाय यादव र डम्बर खतिवडा रहेका छन् । पार्टी एकीकरणपछि एकताको सन्देश प्रवाह गर्न केन्द्रीय स्तरबाट पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम जेठ ११ गते पूर्वको विराटनगरबाट शुभारम्भ भएर पश्चिमको धनगढी हुँदै जेठ २५ गते पोखरामा समापन हुनेछ । कार्यक्रम तालिका अनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगंज, १७ गते भैरहवा, १८ गते नेपालगंज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गरी कार्यक्रम सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *