अवैध धन्दा गर्ने ६ जना पक्राउ

काठमाडौं, २५ बैशाख । प्रहरीले अवैध धन्दा गर्ने ६ जना पक्राउ गरेको छ । लाजिम्पाटबाट बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट बाघको छाला १ थानसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दार्चुला दुहु गाउँपालिका–१ घर भएका २९ वर्षीय नरेशबहादुर बम र सोही ठाउँ घर भएका २८ वर्षीय गोबिन्दसिहं महरा रहेको महानगरीय प्रहरी बृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेले जानकारी दिए । उनले घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताएका छन ।
यसैगरी हिमाली जिल्ला डोल्पामा दुलर्भ वन्यजन्तु रातोहाब्रेको (रेडपाण्डा) छालासहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका वडा नं ३ कालिका बस्ने जगबहादुर थापा रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । थप अनुसन्धानका लागि थापालाई आजै जिल्ला प्रहरी कार्यालय पु¥याइएको छ ।
यस्तै महानगरीय प्रहरीवृत्त जगातीको चेकपोष्टले जगातीबाट रक्तचन्दन र लागुऔषधसहित पक्राउ गरेको छ । सुरक्षा जाँचका क्रममा सूर्यविनायक नगरपालिका– ८ जगातीमा उदयपुर बेलटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख २३०० नं को माइक्रोबसले छतमा बोरामा राखी ल्याउँदै गरेको ५६ टुक्रा रक्तचन्दनसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का ३६ वर्षीय बुद्धि तामाङ र उदयपुर बेलटारका १९ वर्षीय मोहन नेपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको र काठ जिल्ला वन कार्यालयलाई बुझाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । त्यसैगरी प्रहरीले जगाती चेकप्वाइन्टमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा४१प ३१५५ नंको मोटरसाइकलमा जाँच गर्दा झोलामा बोकेर ल्याइएको लागुऔषधसहित धनकुटा महाभारत गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा बस्ने २४ वर्षीय राजेश राईलाई पक्राउ गरेको छ । प्रहरीले निजको साथबाट अवैध लुपिजेसिक, एभिल, फेनरागन, डाइजेपाम र नाम नखुलेको औषधिसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । लागुऔषधसहित आएको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २६ वर्षीय मदन राई मोटरसाइकलसहित फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *