सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नियमापत्ति


काठमाण्डौ, २५ बैशाख । आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिन । प्रमुख प्रतिपक्षी दलको अवरोधका बीचमा नीति तथा कार्यक्रम पारित भएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले संसद्को गरिमा कायम नभएको भन्दै नियमापत्ति गरेको थियो । त्यसअघि आव २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सरकारले राति देख्ने सपना नभई देश बनाउने सपना देखेको बताएका छन । सरकारले ल्याएको नीति तथा कार्यक्रमका बारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सपना राति मात्रै देख्ने कुरा हो भन्ने कसैलाई लागेको हो भने त्यसो नभई आफूहरुले देश बनाउने अठोटको सपना देखेको बताए । हामीले देश बनाउने अठोटको कुरो गरेको भन्दै नीति कार्यक्रमले देश बनाउने सपना देखाएको बताए । नीति कार्यक्रम बडो सोच विचार गरेर तय गरेको सपनाको दस्तावेज भएको भन्दै त्यो देखेको मात्रै नभई एउटा सोचको रुपमा विकास गरेको पनि उल्लेख गरे । प्रधानमन्त्री ओलीले बालुवाटार र खुलामञ्चको जग्गा अतिक्रमण आफ्नो सरकारको पालामा नभएको बताएका छन् । ‘बालुवाटार पनि बिकेछ । खुलामञ्च पनि मासिएछ भनेको सुन्छु यो सरकारले हो ?,’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘अहिले त बालुवाटारको जमिनको समस्या खोजी हुँदै छ । छानबिन हुँदैछ ।’ सत्तारूढ नेपाल कम्युनिस्ट (नेकपा) का महासचिव विष्णु पौडेल नै सरकारी जग्गा व्यक्तिगत नाममा ल्याएको घटनामा मुछिएपछि आलोचना भएको छ । प्रधानमन्त्रीले देशमा भ्रष्टाचार बढ्यो भन्नेहरूलाई पनि जवाफ दिए ।‘वाइड बडीको कारोबार यो सरकारले गरेको हो?,’ उनले भने, ‘के भएको हो छानबिन हुँदै छ ।’ प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेको भुलचुकमा नभई जानीबुझिकन भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपतिले मेरो सरकार भन्नु एकदमै ठीक भएको तर्क गरे। ‘निरंकुशतन्त्रमा मात्र होइन लोकतन्त्रमा पनि मेरो सरकार भन्न पाइन्छ, दुनियाँभर यस्तो अभ्यास छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पोहोर परार थिएन भने अहिलेदेखि नयाँ अभ्यास सुरू भयो । अर्को वर्ष अर्को नयाँ कुरा सुरू गर्छौं ।’ उनले भारतका राष्ट्रपतिले पनि मेरो सरकार भन्ने गरेको उदाहरण दिँदै नेपालको राष्ट्रपति केही होइन भन्ने व्याख्या उचित नभएको बताए । संसदले बनाएका विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुपर्छ । सेना परिचालनजस्ता निर्णय गर्ने राष्ट्रपतिलाई केही पनि होइन भन्नेजसरी व्याख्या गर्नुहुन्न,’ ओलीले भने,‘राष्ट्रपति भनेको देशको सर्वोच्च र सम्मानित संस्था हो । जनताले मेरो सरकार भन्न पाउँछन् भने जनप्रतिनिधिले मेरो सरकार भन्न किन नपाउने?’उनले कुनै व्यक्तिलाई तिमी भन्न नमिल्ने तर तपाईं भन्न मन नहुँदा लटरपटर गरेर टारेजस्तो राष्ट्रपतिले बीचको भाषा प्रयोग गरेर टार्न नमिल्ने बताए । उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेरो सरकारबारे गरेको टिप्पणीले मित्र राष्ट्र बेलायतसँगको सम्बन्धमा पनि असर पर्ने बताए । ‘बेलायतको आफ्नो चलन छ । त्यहाँकी महारानीजस्तो भनेर उता एकदमै नराम्रो छ, यहाँ पनि त्यस्तै भयो भन्नु कूटनीतिक रूपमा नसुहाउने कुरा हो,’ ओलीले भने । सांसदले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासाको प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै पुनः प्रतिप्रश्न गरेका थिए । प्रधानमन्त्रीले सांसदले उठाएको प्रतिप्रश्नको जवाफ दिने क्रममा प्रतिपक्षी काङ्ग्रेसका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले पटक पटक सांसदलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *