राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पुरस्कार वितरण एवम् सम्मान कार्यक्रम


काठमाडौँ, २५ बैशाख । राष्ट्रिय पत्रकारिता दिवस, २०७६ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार शीतल निवासमा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण एवम् वरिष्ठ पत्रकार सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा जनही रु दुई लाख राशिको वरिष्ठ पत्रकार सम्मान बद्रीविनोद प्रतीक र तीर्थ कोइरालालाई प्रदान गरियो भने रु एक लाख राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट खिलबहादुर भण्डारी, माधव विद्रोही, उमीद बागचन, डण्ड गुरुङ, निर्मला शर्मा र मालाकुमारी कर्णलाई पुरस्कृत गरिएको छ । सरकारले ‘उत्तरदायी आमसञ्चारः लोकतन्त्रको आधार’ को नारासहित दिवस मनाएको छ । नेपालमा गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानी विसं २०७३ देखि यो दिवस मानिँदै आएको छ । कार्यक्रममा सम्बोेधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरता, दिगो शान्ति र आर्थिक विकासमा मुलुक अग्रसर बनेको परिवर्तित सन्दर्भलाई गहिरोसँग आत्मसात् गर्दै पत्रकारिताजगतले थप रचनात्मक बनेर समृद्धिको यात्रालाई सार्थक तुल्याउन कटिबद्ध बन्नुपर्ने खाँचो आँैल्याएकी छिन । कार्यक्रममा सम्बोेधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको र प्रेस स्वतन्त्रता लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण माध्यम भएकाले उत्तरदायी पत्रकारिताले नै प्रेस स्वतन्त्रतालाई सार्थक र सबल बनाउने पनि उल्लेख गरिन । नेपालमा पत्रकारिता क्षेत्रले सामाजिक चेतना तथा जागरण, मानव अधिकार र लोकतान्त्रिक प्रणालीका पक्षमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले भनिन, “लोकतन्त्र र उत्तरदायी पत्रकारिताबीचको सम्बन्ध घनिष्ट हुन्छ । यीमध्ये एकको अनुपस्थितिमा अर्काे क्षेत्र जीवन्त रहन सक्दैन ।” उनले मुलुकमा भएका सकारात्मक घटना र सामाजिक आर्थिक क्षेत्रका सफलताका सूचनालाई सर्वसाधारणसम्म पु¥याउनु र आम जनतालाई विकास प्रक्रियामा प्रेरणा प्रदान गर्नु आमसञ्चारजगत्को नैतिक दायित्व भएको बताईन । सामाजिक आर्थिक विकासको गतिसँगै नयाँ संस्कृतिको निर्माण हुनेछ र मुलुक सांस्कृतिक जागरणको नयाँ परिवेशमा पदार्पण गर्ने बताउँदै उनले समाज विकासको यस नियमलाई सम्बद्ध सबैले आत्मसात् गर्नुपर्छ र अझ चेतना र जागरणका संवाहक आमसञ्चार क्षेत्रले यस्तो प्रक्रियालाई उजागर गर्नुपर्नेमा जोड दिईन । पत्रकारिता क्षेत्रले सबैलाई उत्तरदायी बन्न प्रेरित गर्नेछ र आफूलाई पनि अझ बढी उत्तरदायी बनाउँदै लैजानेछ भन्ने विश्वास व्यक्त गर्दै उनले पत्रकारिता दिवसका अवसरमा यस क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने परम्पराले राज्य र आमसञ्चार क्षेत्रबीचको सम्बन्धलाई अझ विश्वासिलो र प्रगाढ बनाउँदै लैजानेछ अपेक्षा व्यक्त गरिन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र नेपालीको आधारस्तम्भ रहेको जनाउँदै लोकतन्त्रलाई सबल बनाउन पेशागत मर्यादा, सम्पादकीय स्वतन्त्रता र आर्थिक स्वतन्त्रतासहित प्रेसको स्वर्ण युग बनाउनेतर्फ सरकारले नयाँ आमसञ्चार कानूनहरु ल्याउन लागेको जानकारी दिए । सञ्चार क्षेत्रका आलोचनालाई सरकारले स्वीकार्ने उल्लेख गर्दै उनले प्रेसले पाठक र दर्शकप्रति आफ्नो आचारसंहिता घोषणा गरी छ–छ महीनाको त्यसको समीक्षात्मक विवरण आफँैले सूचित गनुपर्ने प्रणाली विकास गरिने बताए । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पत्रकारितालाई मर्यादित, जिम्मेवार र स्वतन्त्र कायम राख्न सरकार कानूनी तर्जुमामा लागेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता दिवस मनाइनु मौलिक उत्साहको पक्ष भएको बताउँदै समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले पनि योगदान गर्ने जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *