समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको दावी,नयाँ ‘समाजवादी पार्टी नेपाल’को घोषणा

काठमाडौँ, २४ वैशाख । पार्टी एकीकरण घोषणापछि नेताद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको बताएका छन । यसले सबैखाले उत्पीडनमा परेका जाति र समुदायको हकहितका लागि हिमाल, पहाडदेखि तराईसम्म एकीकृत ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाएका छन । सोमबार सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको हो । अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले जिम्मेवारी पाएका छन । समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ । पार्टी एकीकरणपछि समाजवादी पार्टी, नेपाल संघीय परिषद्का अध्यक्ष बनेका डा भट्टराईले कांग्रेस निभ्न लागेको बत्ती भएको बताएका छन् । त्यसैगरी भट्टराईले नेकपा पश्चगामी भएको र एकतापछिको नयाँ पार्टी क्रान्तिकारी भएको दाबी गरेका छन् । एकता सभालाई सम्बोधन गर्दै डा भट्टराईले भने, ’हिजो विभिन्न क्रान्तिकारी पार्टीका अग्रगामी कित्ता आज फरक रुपमा क्रान्ति अगाडि बढाउन समाजवादी पार्टी बनेको छ । अर्को कित्ता पश्चगामी रुपमा नेकपा र कांग्रेसहरु छन् । कम्युनिस्टहरु केही चमक भएपनि निभ्ने बेलाको बत्ती हो । हिजो स्टालिनो पाला देखि तानाशाही हुँदै कमाउनिस्ट भएका छन् । ’समाजवादी पार्टीको गठन साना तिना सटर खोलेर व्यापार गर्न खोलिएको नभएको उल्लेख गर्दै भट्टराईले अर्को छलाङका लागि पार्टी गठन भएको बताए । उनले भने, ’फेरि अर्को ठूलो छलाङ हान्दै छौँ । यो पार्टीको एकतामात्र होइन राष्ट्रिय एकीकरण हो । हिजो अढाई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले भूगोलको एकीककरण गरे यो पार्टीको एकता, भाषा, धर्म, जाति समुदाय र क्षेत्रलाई संघीय ढाँचामा एकता गर्ने राष्ट्रिय एकीकरणको अभियान हो ।’उनले इतिहासमा एउटा अग्रगामी र अर्को पश्चगामी र यथास्थितिवादी भएको र नयाँ पार्टी क्रान्तिकारी भएको दाबी गरे । ’हिजोका क्रान्तिकारीहरु पश्चगामी बनेका छन् । हिजो जनयुद्ध गरेको एउटा कित्ता हिजो आतंककारी भन्ने हरुसँग जोडिएर पश्चगामी कित्तामा जोडिएको आरोप लगाए ।
यसैगरी पार्टी एकीकरणपछि समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष बनेका उपेन्द्र यादवले राजपालाई एकतामा आउन आह्वान गरेका छन् । संघीय समाजवाद पार्टी र नयाँ शक्ति पार्टीबीचको एकता घोषणासभामा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले राजपालाई एकतामा आउन आह्वान गरेका हुन् । यादवले भने, ’राजपालाई एकतामा आउन आह्वान गर्छु । सानो सानो ठाउँमा सटर राखेर ग्राहक आउँछन् कि भनेर कुरेर बस्ने दिन गए । आउनुस एकतामा । परिवर्तनका पक्षधर सबैका लागि बनेको हो समाजवादी पार्टी । ’त्यसैगरी उनले फोरम छुट्यो भनेर खुसी हुनेहरुका रुने दिन आएकोसमेत दाबी गरे । कांग्रेस अबका दिनमा अघि बढ्न नसक्ने उल्लेख गर्दै यादवले कम्युनिस्ट कमाउनिस्ट भएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *