राष्ट्रिय जागरण अभियानका लागि जिम्मेवारी बाँडफाँट

काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ सम्म ७७ जिल्लामा गर्न लागेको छ ।राष्ट्रिय जागरण अभियानका लागि केन्द्रीय पदाधिकारीको जिम्मेवारी बाँडफाँट भएको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा पार्टीले पत्रकार सम्मेलन गर्दै केन्द्रीय पदाधिकारीको जिम्मेवारीसम्बन्धी जानकारी दिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सातै प्रदेशमा पदाधिकारीले प्रदेशको कमान्ड गर्ने बताए । जसअनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा सम्बोधन गर्नेछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा पुगेर सम्बोधन गर्नेछन् । यता प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदारले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का र प्रदेश ५ को रुपेन्देहीमा अर्का महामन्त्री शंशाक कोइरालाले सम्बोधन गर्नेछन् । कर्णालीमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसले बुधबारदेखि सुरू गर्ने राष्ट्रिय जनजागरण अभियानको कार्यक्रममा कम्तीमा एक जना महिलालाई भाषण गर्न दिने गरी कार्यक्रम तय गरेको छ । आसन र भाषण छोट्याउने बताएको कांग्रेसले एक कार्यक्रममा अब बढीमा ५ जनालाई आसन गराइने र उनीहरूले नै भाषण गर्ने तालिका केन्द्रदेखि गाउँसम्म पठाएको छ । कांग्रेसले ७७ जिल्लामै जनजागरण अभियानको तयारी सकिएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यलाई जिल्ला खटाएको र पार्टीका सभापतिदेखि पदाधिकारीले विभिन्न ठाउँका कार्यक्रमलाई सम्बोधन गर्ने जानकारी दिए । ‘सबै तहमा हुने कार्यक्रममा कम्तीमा एक जना महिला नेतृले भाषण गर्नुहुन्छ,’ प्रवक्ता शर्माले भने, ‘कार्यक्रममा सयौं किलोका माला लगाउने प्रवृत्तिको अन्त्य गरेका छौं ।’ यसअघि महासमिति सदस्य निमा गिरीलगायतले सभापति शेरबहादुर देउवालगायतलाई भेटेर आसन र भाषणमा महिला समावेश गर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *