हात्तीको दाह्रा र चितुवाको छालासहित ७ जना पक्राउ

भक्तपुर, २० बैशाख । महानगरिय प्रहरी परिसर भक्तपुरले जनावरको अंग बोकेर हिँड्दै गरेको अवस्थामा ७ जना व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार साँझ सूर्यविनायक नगरपालिका वडा नम्बर ६ सूर्यविनायक चोकबाट प्रहरीले ५ जना पुरुषलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँ पालिका वडा नम्बर ८ घर भई हाल ललितपुर जिल्ला चापागाउ बस्ने बर्ष ४० को आनन्द तामाङ, ओखलढुङ्गा चिसङ्खु घर भई हाल काठमाडौ बौद्ध बस्ने बर्ष २४ को मनोज कार्की रहेका छन् ।सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर १२ का बर्ष ३१ को नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोर ७ घर भई बस्ने बर्ष ३५ को रत्न ब.माझी र सोही स्थानका बर्ष ३४ को बिष्णुबहादुर माझी रहेको प्रहरीले बताएको छ । प्रहरील चेकजाँच गर्दा बेचबिखन गर्ने उद्देश्यले साथमा भएको अवस्थामा चितुवाको छाला जस्तो देखिने जंगली जनावरको छाला थान २ (दुई) र भालुको पित्तथैली जस्तो देखिने पदार्थ अन्दाजी ७५ ग्राम सहित फेला पारेको हो । आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको प्रहरी नायव उपरिक्षक पोखरेलले बताए ।
यसैगरी मध्यपुर थिमि नगरपालिका वडा नम्बर–१, कौशलटारबाट प्रहरीले हात्तीको दाह्रासहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाण्डौ स्वयम्भू सानो र्भयाङ बस्ने ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका ५ घर भई हालस्वयम्भु सानो र्भयाङ बस्ने २३ वर्षीय भाष्कर पौडेल रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले २५० ग्रामको हात्तीको दाह्रा बिक्रीका लागि लैजाँदै गरेको अबस्थामा उनिहरु पक्राउ परेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *