काठमाडौं, २० वैशाख । नेपाली कांग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र हराएको सभापति शेरबहादुर देउवालले स्वीकार गरेका छन । बिहिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र आन्तरिक अनुशासन पनि हराउँदै गएको भन्दै पार्टी अनुशासनका सम्बन्धमा कार्यकर्तामाझ प्रशिक्षण सञ्चालन गर्न पनि निर्देशन दिएका छन । देउवाले आगामी चुनावमा पार्टीले विजय प्राप्त गर्ने गरी नीति तर्जुमा गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिएका छन् । चुनाव जित्ने गरी नीति बनाउन निर्देशन दिएका हुन् । पार्टीले अवलम्बन गर्ने नीति नै उसको जीतको आधार हुने भन्दै उनले नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । चुनावमा पराजित भएकाले विजयी उम्मेदवारलाई सहयोग गर्नुको सट्टा बोलचालै बन्द गर्ने संस्कृति हावी हुँदै जाँदा सिंगो पार्टी पक्तिनै कमजोर हुने भन्दै उनले त्यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधिले प्रतिष्ठानले नीति निर्माण, खोज अनुसन्धान र कार्यकर्ता प्रशिक्षणमा पार्टीलाई सहयोग गर्ने बताए । प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति निधिले सदस्यहरूलाई सपथ गराएका थिए । पार्टीको उपसभापति प्रतिष्ठानको प्रमुख हुने व्यवस्था छ । ५१ सदस्यीय प्रतिष्ठानमा पछिल्लो पटक सपथ लिएका सदस्य समेत गरि ४८ जना सदस्य पुगेका छन् ।
यसैगरी नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टहरूले केन्द्रदेखि वडासम्म निषेधको राजनीति गरेको आरोप लगाएका छन् । निषेधको राजनीतिले कांग्रेससँग मुठभेड निम्त्याएको पनि कोइरालाको टिप्पणी गरे । नेपाली कांग्रेस भुम्लु गाउँपालिकाद्वारा काभ्रेको सल्लेमा आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले केही वैचारिक मतभेद रहे पनि कम्युनिस्टविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको पनि बताए । कोइरालाले प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न आफूहरू तयार भए पनि सरकार दम्भका साथ अघि बढेको बताए ।पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्नेमा पनि उनले जोड दिएका छन ।