विप्लव माओवादीका जिल्ला इञ्चार्जसहित १० जना पक्राउ,मुलुक अर्को उथलपुथलको पर्खाइमा रहेको दावी

काठमाडौं, १८ वैैशाख । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई सोमबार पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक.,सचिव भरत थापा, महिला सङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य पवित्रा विक र जिल्ला कमिटी सदस्य अङ्गराज भण्डारी रहेका छन् । विद्यार्थी कमिटीका गोरख रोकाया, समीक्षा विक सुशीला विक, सुस्मिता विक, केशातार विक र प्रेम थापा रहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रक्राउ गरेसँगै उनीहरुबाट विभिन्न विष्फोटक पदार्थसमेत जफत गरेको दावी गरेको छ ।
यसैगरी नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुक फेरि अर्को ठूलो आन्दोलनको पर्खाइमा रहेको बताएका छन् । डा भट्टराईले मुलुक अर्को उथलपुथलको पर्खाइमा भन्दैं सत्तामा बसेका नेताहरुलाई खबरदारी गरेका छन । मंगलबार संसदको बैठकमा बोल्दै डा भट्टराईले यस्तो भाषण गरेका हुन । राजनीतिक र आर्थिक परिवर्तनका कामहरु अबरुद्ध भएको भन्दैं उनले विप्लव नेकपाको असन्तुष्टी र विद्रोहलाई बेलैमा संबोधन गर्नुपर्ने बताए । झण्डैं आधा घण्टा संसद बैठकमा बोल्दै बाबुरामले शासकहरुले यही स्थिति रहिरहन दिए मुलुक ठूलो आन्दोलनको पर्खाइमा रहेको बताए ।
यस्तै राजद्रोहको मुद्दामा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका दुई नेताको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । राजद्रोह र बम विस्फोटको मुद्दामा चैत ९ गते काभ्रेबाट पक्राउ परी वैशाख १० गते अदालतको आदेशमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु जेल चलान गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो । नेकपाको मध्यकेन्द्रीय कमान्ड इन्चार्ज र उक्त पार्टीको केन्द्रीय पार्टी स्कुलिङ विभागका इन्चार्ज रहेका नेता सुदर्शन विगत १२ वर्षदेखि उच्च रक्तचाप र ७ वर्षदेखि मधुमेहका बिरामी छन् । पारिवारिक स्रोतका अनुसार सुदर्शन पछिल्लो समय कोलेस्ट्रोल, युरिक एसिड, प्रोस्टे«ट र खानानपच्ने समस्याबाट समेत पीडित छन् । दैनिक ५ प्रकारका औषधी सेवन गर्ने गरेका उनी पक्राउ परेसँगै हिरासत र जेलको बसाइका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । यही सोमबार दाँतको उपचारका लागि उनलाई सरकारी अस्पताल वीर अस्पतालमा लगिएको थियो भने अहिले उनको रक्तचाप निकै उतारचढाव हुने गरेको र अनियन्त्रित बनेपछि उनको घरपरिवार चिन्तित बनेका छन् । यस्तै चैत २४ गते आइतबार सरर्वोच्च अदालतको आदेशमा रिहालगत्तै गेटबाटै गिरफ्तार गरिएका नेकपाका पोलिटब्युरो सदस्य जीवन्त मधुमेह र मृगौला रोगबाट पीडित छन् । उनले त्यससम्बन्धी दैनिक रूपमा कडा औषधी लिइरहेका छन् । सङ्गठित अपराध अभियोगमा अनुसन्धानका लागि भन्दै हाल सङ्खुवासभा जिल्ला प्रहरी हिरासतमा राखिएका उनलाई स्वास्थ्य परीक्षण गराउनसमेत नदिएको उनको परिवारका सदस्यले जनाएका छन् । भेटघाट गर्न पुगेकाहरूसँग नेता जीवन्तले आफ्नो स्वास्थ्यमा समस्यामा परेको भन्दै उपचारका लागि काठमाडौँ लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *