आगामी वर्षदेखि सामाजिक सुरक्षा कार्यक्रम लागू हुने

 

काठमाडौं, १८ वैशाख । आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीका लागि स्वदेशमै रोजीरोटीको प्रबन्ध गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । श्रमजीवीहरुको हक–अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनमा सरकार लागेको उनले सन्देशमा उल्लेख गरेका छन् । यही क्रममा श्रमिकहरुको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरिएको प्रधानमन्त्रीको भनाइ छ । योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी नियमावली र कार्यविधिसमेत तयार पारेको स्मरण गराउँदै उनले पूर्व प्रतिवद्धताअनुरुप नै आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू हुने प्रतिबद्धता दोर्होयाएका छन् । सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो ।यसैगरी नेकपाका अध्यक्ष प्रचण्डले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न नेकपा र त्यसले नेतृत्व गरेको वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन् । १३० औं विश्व मजदुर दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले श्रमिकको हक सुनिश्चित गरेर समाजवादको आधार तयार पार्न सरकारले जोड गरिरहेको उल्लेख गरेका छन् ।‘श्रमको सम्मान र श्रमिक वर्गको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्न वर्तमान कम्युनिस्ट सरकारले विभिन्न योजनाहरु मार्फत समाजवादको आधार तयार पार्न जोड गरिरहेको छ’, प्रचण्डले जारी शुभकामना सन्देशमा लेखेका छन् ।
यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘मे १ तारिख’ अर्थात् श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गरेका छन । पूर्वप्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत यो दिवस श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै नेपालमा २००३ सालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको बताएका छन ।
तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको उल्लेख गर्दै सभापति देउवाले नेपालमा प्रजातन्त्रको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको बताएका छन । त्यसैले काँग्रेस र मजदूर सधैं एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको उनले उल्लेख गरेका छन । आज पनि नेपालका श्रमिकले अनेक समस्या व्यहोर्नु परेको उल्लेख गर्दै सभापति देउवाले श्रमिकका समस्या समाधान गरी उनीहरुका हक र हितको सम्वद्र्धन गर्न काँग्रेस सदैव सचेत भएर लागिरहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *