कम्युनिष्टबाट देशलाई बचाउन पौडेलको आग्रह

रौतहट, १५ वैशाख । कम्युनिष्टले देशमा लुट मच्चाएकोले कम्युनिष्टबाट देशलाई बचाउन नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आग्रह गरेका छन । रौतहटमा शनिबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले कम्युनिष्टले देशलाई समृद्ध बनाउन नसक्ने दाबी गरेका छन । उनले कम्युनिष्टले देश विकास र लोकतन्त्र संस्थागत गर्न नसक्ने दाबी गरे । ‘कम्युनिष्टले लुट मच्चाए । यो शासनबाट नेपालीको भलो हुँदैन,’ उनले भने, ‘विकासको नाममा कम्युनिष्टले देशलाई भ्रष्टाचारको अखडा बनाए।’विश्वबाट हराइसकेको कम्युनिष्टले नेपालमा दुई तिहाइसहित सरकार चलाएको भन्दै उनले कम्युनिष्टबाट देशलाई बचाउने बेला आएको बताए । केपी ओली नेतृत्वको सरकार काण्डै काण्डमा फसेको पौडेलले आरोप लगाए । ‘बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, निर्मलाकाण्ड, वाइड बडि काण्डलगायत यो सरकार काण्डै काण्डको सरकार हो,’ उनले भने । सरकारले जनतामा देखाएको सपना अनुसार बर्षदिनमा एउटै काम नगरेको उनको भनाइ छ । उनले कांग्रेसभित्र एकता कायम राख्न छिटो १४ औं महाधिवेशन गर्नुपर्नेमा जोड दिए । ‘कांग्रेसलाई सुधार गर्नुपर्ने छ । नयाँ जीवन दिनुपर्नेछ,’ उनले भने, ‘अहिलेको नेतृत्वबाट यो संभव देखिएको छैन । छिटो महाधिवेशन गर्नुपर्छ । ’उनले मधेशकेन्द्रीत दलहरुलाई संविधान संशोधनको मुद्दा किन छाडेको भनेर प्रश्न पनि गरे । ‘मन्त्रीको लोभमा राजपा र संघीय समाजबादी फोरम लागे,’ उनले भने, ‘संविधान संशोधन गर्न नमान्ने केपी ओलीलाई यिनीहरुले सघाइरहेका छन् । राजपा र फोरमलाई पनि सत्ता र कुर्सी चाहिएको रहेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *