स्थानीय संघ संस्थाको चर्को विरोध भएपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा भएका सटरहरू भत्कायो

काठमाडौं, १५ वैशाख । स्थानीय संघ संस्थाले चर्को विरोध गरेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा भएका अवैध सटरहरू भत्काएको छ । खुलामञ्च बसपार्कमा अवैध रुपमा निर्माण गरिएको सटरसहितको संरचना शनिबार भत्काइएको हो । बस पार्कमा बहुउद्देश्यीय भवनसहितको संरचना बनाउने तयारीसँगै खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमै सटर निकालेर व्यवसायिक कारोबार हुन थालेपछि चर्को विरोध भएको थियो। काठमाडौं महानगरपालिकाको चर्को आलोचना हुन थालेपछि गैर कानुनी रुपमा खडा गरिएको संरचना हटाइएको हो। खुलामञ्च अतिक्रमणविरूद्ध स्थानीय विभिन्न संघ संस्थाले दबाब दिँदै आएका थिए । हिजोमात्रै कामपाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गराउने प्रतिबद्धता दिएका थिए । खुलामञ्च अतिक्रमणबारे ध्यानाकर्षण गर्न महानगर पुगेका काठमाडौं–७ का सांसद भिमसेनदास प्रधानसहितको टोलीले मेयर शाक्यसँग भेट्न पुगेका थिए । खुलामञ्चमा अनुमतिबिना ५० भन्दा बढी सटर बनेका थिए ।यसैगरीमोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले खुलामंचलाई वैशाखभित्र खाली नगरे जनकार्वाही गर्ने चेतावनी दिएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सहिद मञ्च कब्जा गरिएकोप्रति कडा विरोध गर्दै सरकार र महानगरपालिकालाई बैशाखभित्र सहिदमञ्च खाली गराउन अल्टिमेटम दिएको हो । सहिद मञ्च जनताले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने ठाउँ भएको भन्दै त्यो मोर्चालाई सह्य नहुने र बैशाखभित्र खाली नगरिए जनता आफैले प्रत्यक्ष कारबाहीद्वारा खाली गराउने चेतावानी दिइएको थियो । मोर्चाका अध्यक्ष सीपी गजुरेलले ‘सहिद मञ्चलाई मुक्त पारौं !’ भन्ने शीर्षकमा शुक्रबार वक्तव्य जारी गर्दै यस्तो अल्टिमेटमसहितको चेतावानी दिएका थिए ।यस्तै युवा संगठन नेपालले वर्तमान बामपंथी सरकारका भित्री काला कर्तुतहरु दिनप्रतिदिन उदाङ्गिदै गरेको जनाएको छ । नेकपा निकट युवा संगठनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल दक्षिण एसिया र विश्वको पहिलो भ्रष्टाचारी मुलुकको लिस्टमा पर्न थालेको जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगलीबाट जारी गरिएको विज्ञप्तिमा वर्तमान सरकारलाई केपी प्रचण्डको कथित बामपंथी सरकारको संघ्या दिईएको छ ।एनसेलमा भएको अरबौं कर छलि चुडामणि शर्मा, गोपाल खड्का लगायतका कर छलिमा शाषकहरुको प्रत्यक्ष संलग्नता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारी सम्पत्तिको दोहन गर्न राज्य सञ्चालकहरु नै लागेको भन्दै विज्ञप्तिमार्फत युवा संगठनले त्यसको विरोध जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘हालै मात्र बाहिर आएको खुल्ला मञ्चको सार्वजनिक जग्गा प्रकरण बालुवाटारको सरकारी जग्गा बिक्री बितरण प्रकरणमा राज्य सत्तामा रहेका शाषकहरुको मिलोमतोमा भएका घटनाहरु हुन् ।’ भ्रष्टाचार हुन दिन्न र आफु पनि गर्दैन भन्ने प्रधानमन्त्री केपी ओलीको देखाउने दाँत मात्र भएको उक्त संगठनले आरोप लगाएको छ । बालुवाटार र खुल्ला मञ्च जग्गा प्रकरणका विरुद्धमा जनताले गरेको आन्दोलनप्रति युवा संगठनको पुर्ण ऐक्यबद्धता रहेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *