पूर्व सभासद् र जनसरकार प्रमुखसहित १५ जना पक्राउ

 

कैलाली, १५ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी समूहका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह), युथ रेडफोर्सका जिल्ला संयोजक र जनसरकार प्रमुखसहित १५ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा युथ रेडफोर्सका जिल्ला संयोजक रुपेश देवकर, जनसरकार प्रमुख अमर बम, जिल्ला सदस्य कैलाश भन्ने जगत आउजी, सचिवालय सदस्य ध्रुव सञ्ज्याल, किसान सङ्घका जिल्ला अध्यक्ष उदयराम थापा, पूर्वडिसिएम कृष्णबहादुर शाही छन् । यसैगरी हुम्ला घर भएका प्रदेश नं ७ का सैन्य कमाण्डर दानबहादुर फडेरा, सल्यान घर भएका अखिल नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष बन्धुकुमारी चन्द, अखिल नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतका अध्यक्ष पुष्पराज न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त समूहका कार्यकर्ता इन्द्रबहादुर बम, सुरेन्द्र सुनार भन्ने बलबहादुर विसी र सीता देउकरलाई पनि पक्राउ गरिएको छ । यसैगरी सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले शनिबार धनगढीबाट पक्राउ गरेको छ । बाजुरा जिल्ला स्थायी ठेगाना भएका शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका शाहमाथि राजद्रोहमा मुद्दा चालाइएको छ । ‘सशस्त्र प्रहरी बल नेपाल, ३४ नम्बर गण हेडक्वार्टर कैलालीबाट खटिएको टोलीले चेक जाँच गर्ने क्रममा पूर्व सभासद् शाहलाई महत्त्वपूर्ण दस्तावेजसहित उनकै डेराबाट पक्राउ गरेको हो । प्रहरीले पूर्व सभासद् शाहको डेराबाट प्रतिबन्धित नेकपा कैलालीको आयव्ययको विवरण, परिपत्र तथा निर्देशन पत्र, लेटर प्याड, विधान, सेती ब्युरोका विभिन्न मितिमा भएका निर्णय, विभिन्न राजनैतिक सङ्गठनात्मक कामको विवरण लगायतका दस्ताबेज बरामद गरिएको जनाएको छ । प्रहरीले पूर्व सभासद् शाहमाथि राजद्रोह गरेको आरोपमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालत कैलालीबाट सात दिन म्याद थप गरिएको जानकारी दिएको छ। शुक्रबार प्रहरीले कैलालीको टीकापुरस्थित एकता शिविरबाट नेकपा (विप्लव) एरिया नम्बर ८ का दुई जना सदस्यलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय तपेन्द्र रसाइली र ३३ वर्षीय पूर्णबहादुर खड्का रहेको बताइएको छ । यीसहित कैलालीमा शुक्रवारसम्म विप्लव समूहका १५ नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरिएका १५ जनामाथि अनुसन्धान जारी रहेको जनाएको छ । पक्राउ गरेकामध्ये छ जनामाथि आपराधिक उपद्रव गरी आगो लगाएको मुद्दा, चार जनामाथि राजद्रोह, आपराधिक षडयन्त्र, राष्ट्रहित प्रतिकुल कार्य, र सङ्गठित अपराध शीर्षकमा मुद्दा चलाएको छ भने तीन जनामाथि सार्वजनिक हितसमेत विरुद्धको कसुर अपराधमा अभद्र व्यवहार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरेको कैलाली प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *