विप्लव माओवादीद्वारा जनसरकार घोषणा जनपरिषद् प्रमुख र जिल्ला इन्चार्जसहित ५ जना पक्राउ

काठमाडौं, ९ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरकार घोषणा गरेको छ । सरकारले प्रतिबन्ध लगाएको र त्यसको कडा प्रतिकार गर्ने उद्घोष गरेको नेकपाले गाउँ गाउँ जन सरकार घोषणा गरेको हो । इलामको फाकफोक थुम गाउँ पालिकामा गाउँ जनसरकार घोषणा गरेको छ । गाउँपालिकाका सबै वडादेखि जनताको उपस्थिति रहेको थियो भने भेलाले होम किराँतीलाई सत्ता प्रमुखमा निर्बाचित गर्दै सात सदस्य कमिटी निर्माण गरेको छ । मन्तव्य दिने क्रममा नब निर्बाचित सत्ता प्रमुखले गाउँ पालिकामा भ्रष्ट र घुसखोरी बाहेक कोही नभएको र अब त्यस्ता दलालहरुलाई प्रतिबन्ध लगाउँदै जनसत्ताले कार्बाही गर्ने बताए । अब कुनै पनि हालतमा भ्रष्टहरुको नेपालमा रजाइ नचल्ने बताउदै हामी इलामेली जनता एक भएको र अब कसैले पनि हामीलाई प्रतिबन्ध लगाएर केही नहुने बरु जनता र देशकोलागि रत्न बान्तावा जस्तै बलिदान दिन तयार भएको भन्दै जनतालाई कसिलो मुठी बनाएर प्रर्तिबाद गर्न अनुरोध गरे । पार्टीका गाउँ सचिवले बिस्पोटले नायकहरु खलनायक हुँदै गएको बताउदै अब पुल्ठो बलेको छ यसले दलाललाई खरानी बनाउने बताए । कार्यक्रम माङसेबुगको एक गाउँमा भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता गाउँ पालिका सेक्रेटरी बिस्फोटले गरेका थिए भने सञ्चालन होम किराँतीले गरेका थिए ।
यसैगरी ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डे रहेका छन् । प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए । त्यस्तै पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पु¥याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएको उनले बताए । पाण्डेलाई आइतबार जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाको कैलारी गाउपालिका २ उजलीसेमराबाट एरिया सदस्य शैलेन्द्र विसीलाई घरमै बसिरहेकोबेला बैशाख ८ गते दिउसो २ बजे प्रहरीले गिरफ्तार गरेको एरिया इन्चार्ज अविरले बताएका छन् । विनाकारण गिरफ्तार गरिएका विसीलाई तत्काल रिहाइ नगरे देशमा ठुलो भयावह अवस्था आउन सक्ने उनको चेतावनी छ । विसीलाई जिल्ला प्रशासन धनगढीमा राखिएको समाचार प्राप्त भएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी झापा जिल्लाको इलाका इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । झापा शिवसतासी नगरपालिका ११ घर भएका सौगात कटुवाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो । बिर्तामोड नगरपालिका ३ आँखा अस्पताल छेउबाट आइतबार बेलुका कटुवाललाई पक्राउ गरिएको बताइएको छ । कटुवालसँगै रहेका नेकपाका कार्यकर्ता अर्जुनधारा नगरपालिका ११ का अर्जुनकुमार चौहानलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । नेकपाका नेता त्यस क्षेत्रमा आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चन्द्रगढीबाट सादा पोशाकमा खटेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *