सरकार अधिनायकवादतर्फ उन्मुख भएको देउवाको दावी

दमक, ९ वैशाख । वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाएका छन । झापाको चन्द्रगढी विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन । संसदमा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकिर थियो । देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाए । उनले भने, “काङ्ग्रेसको प्रतिपक्षी भूमिकामा कमजोर छैन ।” काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उनले भने, “यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो ।” काङ्ग्रेस क्षेत्रीय समितिको भवन उद्घाटन तथा सम्मान कार्यक्रममा सहभागी हुन पार्टी सभापतिसहितका शीर्ष नेता झापा आएका हुन । झापाको दमकमा काङ्ग्रेस क्षेत्रीय समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा ६ पुराना कार्यकर्तालाई सम्मान गर्दैै देउवाले वर्तमान सरकारबाट जनता आशावादी होइन्, आजित हुँदै गएको आरोप लगाए । “चुनावमा अनेकौँ लालच देखाए पनि सरकारमा आएपछि गतिलो काम गर्न सकेका छैनन्”, उनले भने । उनले स्वतन्त्र प्रेसमाथि अङ्कुश लगाउन खोजेको, जथाभावी पत्रकार पक्राउ गर्न थालेको, सेना परिचालनको अधिकार प्रधानमन्त्री मातहत ल्याउन खोज्नु अधिनायकवादको सङ्केत भएको जिकिर गरे । पार्टी विधानअनुसार बाँकी रहेका समिति सबैको सहमतिमै गठन गर्ने स्पष्ट पार्दै सभापति देउवाले पार्टीलाई बलियो बनाउन खाँचो रहेको आँैल्याए । काङ्ग्रेसको भविष्य सबै नेता, कार्यकर्तामा रहेकाले अब काङ्ग्रेसलाई बलियो र जनताको काङ्ग्रेस बनाउन जुट्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको कार्यशैलीको आलोचना गरेका थिए । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, राष्ट्रियसभा सदस्य सरिता प्रसार्इं, काङ्ग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे, धनराज गुरुङ, जिल्ला सभापति उद्धव थापा, महेन्द्रकुमारी लिम्बूलगायतले आ–आफ्नो धारणा राख्नुभएका थिए । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला, गाउँ तथा नगरका कार्यकर्ताको उपस्थिति रहेको थियो । दमक–५ स्थित पार्टी कार्यालय भवन करीब रु ३५ लाखको लागतमा निर्माण गरिएको हो ।
यसैगरी नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले एकपछि अर्को अलोकतान्त्रिक चरित्रहरु प्रस्तुत गर्दै गएपनि आफूहरु अराजक रं उदण्ड प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसक्ने बताएका छन् । सोमबार नेपाल प्रेस युनियन सर्लाहीले बरहथवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले सो कुरा बताएका हुन् । उनले काँग्रेस अत्यन्तै लोकतान्त्रिक पार्टी भएकाले सोहीअनुसार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरे । ‘वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक निर्णय र व्यवहार गरिरहेको उपसभापति निधिले आरोप लगाए । उनले भने, ‘तर नेपाली काँग्रेसले उनिहरुले विगतमा गरेजस्तै सडकको रेलिङ्ग भाँच्ने, संसदको कुर्सी भाँच्ने जस्ता अराजक र उदण्ड ढंगले विरोध प्रदर्शन गर्ने शैलीमा अलोकतान्त्रिक प्रतिपक्षको भूमिका निर्बाह गर्दैन ।’ नेता निधिले काँग्रेसको संयमतालाई कमजोरी सोचे सरकारले गम्भीर परिणाम भोग्नु पर्ने निधिले चेतावनी समेत दिए । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिले वर्तमान सरकारले १४ महिनामा कुनै राम्रो काम गर्न नसकेको बरु संघीयता विफल पार्ने बाटोमा भिडेर लागेको आरोप लगाए । ‘चारैतिर भ्रष्ट्राचार मौलाएको छ, संघीयता सफल पार्ने भन्दा पनि विफलताको बाटोमा अगाडि बढिरहेको छ’, उनले भने, ‘अधिकारहरु क्रमशः प्रधानमन्त्रीमै केन्द्रित गर्दै संघीयताको मर्ममाथि प्रहार गर्ने अनि प्रदेश सरकार र स्थानीय सरकारलाई बेवास्ता गरिरहेको छ ।’छुट्टै प्रसंगमा निधिले पार्टी एक रहेको दाबी समेत गरे । ‘नेताले लादेको कुरा अन्तिम हुन्छ भन्ने कम्युनिष्ट विचारधाराको जस्तो हाम्रो पार्टी हैन, त्यसैले पार्टीभित्र वैचारिक लडाईं हुन्छ’, उनले भने, ‘पार्टी भित्र वैचारिक लडाईं भएपनि एक ढिक्का छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *