मोरङ र धादिङमा आगलागी

काठमाडौँ, ४ वैशाख । मोरङ र धादिङमा आगलागीबाट लाखैको क्षति भएको छ । मोरङको दुई छुट्टाछुट्टै स्थानमा मंगलबार आगलागी हुदाँ चार घर जली रु ५५ लाख बराबरको क्षति भएको छ । कटहरी गाउँपालिका–६ मुस्लिम टोलका कृष्णबहादुर लुइँटेलको घरबाट विद्युत् चुहावट भई आगलागी हुँदा निजको दुईतले कच्ची घर, छिमेकी मनोज विष्ट र कमल विष्टको घरसमेत जलेर नष्ट हुँदा रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो भने कुनै मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका–५ कमल तिमिल्सिनाको घरभित्र रहेको केमीकल फ्याक्ट्रीमा मंगलबार दिउँसो विद्युत् चुहावट आगलागी हुँदा घरभित्रका सम्पूर्ण समानहरु जलेर नष्ट हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।
यसैगरी धादिङको थाक्रे गाउँपालिकामा सिलिन्डर लिक भएर मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीमा करिब साढे ५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन ।थाक्रे गाउँपालिका–५, दामेचौरका स्थानीय इन्द्रबहादुर तामाङको २ तले पक्की घरमा सिलिन्डर ग्यास लिक भएर आगो लागेको हो ।आगलागी हुँदा तामाङको घरमा रहेको खाद्य स्टोर र कस्मेटिक पसलका सामान जलेका छन् ।जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले आगलागीबाट करिब साढे ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जानकारी दिए । बिष्टका अनुसार आगलागीमा मानवीय क्षति भने भएको छैन ।आगो प्रहरी र स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *