वैशाख ११ गतेदेखि नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान थाल्ने


काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी सङ्गठन सुदृढीकरणका लागि देशभर ‘हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरण अभियान शुरु गर्ने भएको छ । । यही वैशाख ११ गतेदेखि अभियान शुरु हुनेछ । काङ्ग्रेसले मंगलबार पत्रकार सम्मेलन गरी सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ साल भरी तीन चरणमा सम्पन्न हुने जनाइएको छ । पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचीत गर्ने, राष्ट्रव्यापी रुपमा पार्टीमा एकता कायम गर्दै पार्टी सुदृढीकरणका विविध गतिविधि गर्ने, काङ्ग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धी नागरिकमा पु¥याउने अभियानका उद्देश्य छन् ।
त्यस्तै सरकारका भ्रष्टाचारलगायत विसङ्गतिपूर्ण कृयाकलापबारे नागरिकमा प्रष्ट्याउने, तराई–मधेशलगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिको समाधान सूत्र विगतमा काङ्ग्रेस नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो भन्ने तथ्यलाई प्रस्ट्याउँदै जनमत र वातावरण निर्माण गर्ने अभियानको लक्ष्य रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अभियानले कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उब्जिएको प्रतिकुल परिणाम, बौद्धिक समुदायप्रतिका अबौद्धिक टिप्पणी, चिकित्सा शिक्षा क्षेत्रमा बढेको बेथिति, प्रेस स्वतन्त्रतामाथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अनेक प्रयत्न आदिका विरुद्ध खबरदारी र काङ्ग्रेसको सदस्यता वितरण एवं विस्तार गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ÷नगर टोलसम्म व्यापक ढङ्गले प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्नेलगायत १५ उद्देश्य राखेको उनले बताए । सरकारको अधिनायकवाद देखि मधेशको माग पूरा गराउने लगायतको एजेण्डा रहेको छ । यसैगरी, निर्मला पन्तलगायतका घटनाको छानविन, विपदमा क्षति भएकाको पुर्नस्थापनामा सहयोग, विदेशमा रहेका नेपालीहरुलाई मतदानको अधिकार लगायतको कुरा जागरण अभियानमा उठाइने कांग्रेसले जनाएको छ ।
जागरण अभियानको पहिलो चरण ११ वैशाखदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुनेछ । केन्द्रीय नेताहरु प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने शर्माले बताए । यसैगरी बीपी जयन्तीबाट सुरु हुने दोस्रो चरणको अभियान १५ दिनसम्म चल्ने छ भने तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुनेछ । उक्त निकायहरुमा १० दिनसम्म केन्द्रीय नेताहरु बस्ने जनाइएको छ । कांग्रेसले जागरण अभियानसँगै पार्टीको कार्यक्रमहरुमा पनि परिवर्तन ल्याएको छ । आसन ग्रहणदेखि मन्त्व्यलाई पनि छोट्याएको छ । अभियानका क्रममा कांग्रेसले पार्टीको स्थापनाकालदेखि हालसम्मको दस्ताबेज संकलन गर्नुका साथै पुरान नेताहरुको सोधीखोजी समेत गर्ने प्रवक्ता शर्माले बताए । विदेशमा रहेका नेपालीहरुलाई मतदान प्रक्रियामा सहभागी गराउनका लागि सरकारलाई नेपाली कांग्रेसले दबाब दिने भएको छ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन आदेश दिएको भन्दै उक्त आदेशलाई पालन गर्नु पर्ने प्रवक्ता शर्माले बताए । जागरण अभियानका क्रममा उक्त विषयलाई देश तथा विदेशमा उठाइने उनले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *