जनमुक्ति सेनाद्वारा महासचिव पौडेललाई कारवाही गर्ने चेतावनी

काठमाडौँ, ४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई कारवाही गर्ने बहिर्गमित जनमुक्ति सेनाले चेतावनी दिएको छ । बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा पारेपछि पूर्वजनमुक्ति सेनाले सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई चेतावनी दिएको हो । बहिर्गमित जनमुक्ति सेनाले राष्ट्रिय सम्पतीमा गिद्दे नजर लगाएर बालुवाटारको सरकारी जमिन आफ्नो नाममा गर्नुको ठूलो अपराध भएको बताउँदै पौडेलले नैतिक हिसाबले राजिनामा दिनुपर्ने बताएको छ । पौडेललाई कारवाही गर्नुको साटो सरकारले बचाउन खोजेको भन्दै बहिर्गमित जनमुक्ति सेनाले आपत्ति समेत जनाएको छ । संगठनका महासचिव राजन थापा ‘सुवास’ ले मंगलबार विज्ञप्ति जारी गरेर बालुवाटारको सरकारी जमिन पौडेलले छोरा नविनको नाममा नामसारी गरेको प्रमाणित भइसकेको भन्दै कारवाहीको माग गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली हाकाहाकी सरकारी सम्पति व्यक्तिको नाममा जाँदा पनि कानमा तेल हालेर सुतेको आरोप सुवासले लगाए । भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताउँने प्रधानमन्त्रीले सरकारी जमिन नै व्यक्तिको नाममा गर्दा किन कारवाही नगरेको ? भन्दै सुवासले प्रश्न गरेका छन् ।सुवासले बालुवाटारलगायत देशभरको सरकारी जमिन व्यक्तिको नाममा गर्ने भूमाफियालाई कारवाही नगरिए बहिर्गमित जनमुक्ति सेना चुप लागेर नबस्ने भन्दै पौडेललगायत सबै भूमाफियालाई कारवाही गर्ने चेतावनी दिए । त्यस्तै उनले नागरिक विधेयक फिर्ता नभए हातमा दही जमाएर नबस्ने चेतावनी समेत दिएका छन ।
यसैगरी नेपाल विद्यार्थी संघ काभ्रेले नेकपाका महासचिव विष्णु पौडेललाई जग्गा किन्नको लागि मंगलबार रकम संकलन गरेको छ । जिल्ला शाखा कार्यालयको अघुवाईमा आयोजना गरेको रकम संकलन गरेर नेकपाको कार्यालयमा पठाएको हो ।सरकारको नाममा रहेको बालुवाटारको १४७ रोपनी जग्गाको विवादमा विष्णु पौडेलको नाम जोडिएपछि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पौडेल ठगिएको भन्ने अभिव्यक्ति दिएका थिए । पौडेल सरकारी जग्गा हिनामिना गर्ने प्रयासमा लाग्दा ठगिएकोले उनलाई सहानुभूति स्वरुप आर्थिक सहायता संकलनको अभियान नेविसंघले चलाएको थियो । नेविसंघ काभ्रेले विभिन्न सर्वसाधारणहरुसँग विष्णु पौडेलको जग्गा किन्नको लागि भने प्रति व्यक्ति १ रुपैयाँको दरमा सहायता संकलन गरेको थियो । सो क्रममा ६ सय ७३ रुपैयाँ संकलन भएको विद्यार्थी नेता विद्या सागर तामाङले जानकारी दिए ।उनले त्यो पैसा खामबन्दी गरेर नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीको ठेगानामा हुलाक मार्फत् पठाईएको समेत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *