बिभिन्न दुर्घटनामा ७ जनाको मृत्यु

सर्लाही, २ वैशाख । सर्लाहीमा सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डको कविलासी नगरपालिकामा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सर्लाही सदरमुकाम मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको बिआर ०१ पिबी ५९५१ नम्बरको टाटा भिक्ट्टा गाडी कविलासी नगरपालिका–१० चमेली माई मन्दिर नजिक दुर्घटना हुँदा त्यसमा सवार सर्लाही वागमती नगरपालिका–८ निवासी ४५ वर्षीय चिरञ्जीवी पोखरेलको मृत्यु भएको प्रहरी चौकी कबिलासीले जनाएको छ । दुर्घटनामा परी ९ जना घाईते भएका छन् । घाईतेहरुको सर्लाही अस्पताल मलंगवामा समान्य उपचार गरी थप उपचारको लागि भरतपुर तर्फ रेफर गरिएको छ ।
यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजिक आइतबार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका– ९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका– ६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बा३ख १३१८ नम्बरको बस रिजर्भ गरेर घर फर्किंदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए । तीव्र गतिमा रहेको बसको स्टेरिङ मोड्दा सडक छेउको रुखमा ठोक्किन गई दुर्घटना भएको उनले बताए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगर लगिएको छ भने सामान्य घाइतेको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी सोलुखुम्बुको लुक्ला एयरपोर्टमा समिट एयरको हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको समाचार प्राप्त भएको छ । अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृत्यू हुनेको संख्या ३ जना पुगेको समाचार छ ।श्रेष्ठको काठमाडौँ ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि समिट एयरका कोपाइलट सुजीत ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो । लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *