विप्लव माओवादीले युद्धमा जान फौजी तालिम लिएको खुलासा,मकवानपुर इञ्चार्जसहित ३ जना पक्राउ

काठमाडौँ, २९ चैत । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले युद्धमा जान फौजी तालिम लिइरहेको खुलासा भएको छ । नेकपा रोल्पा सेक्रेटरी सन्तोष सुवेदीले आफुहरुले बाध्य भएपछि फौजी तालिम लिइरहेको खुलासा गरेका छन् ।ओली सरकारले आफुहरुलाई बाध्य पारेर युद्धमा जान धकेलेपछि फौजी तालिम लिएको सेक्रेटरी प्रयासको दाबी छ । रोल्पामा संचालित एक एफएम रेडियोसँग बिहीबार कुरा गर्दै प्रयासले ओली सरकारले चलाएको दमनको प्रतिकार गरिने चेतावनी दिएका छन् ।आफुहरुले अझैपनि युद्ध नचाहेको तर आवश्यक परे युद्धमा जान तयार रहेको उनको भनाई छ ।
यसैगरी विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो ।सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन । यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर हिरासतमा राखेर विभिन्न मुद्दाहरु चलाएको छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई सघाएको आरोपमा प्रहरीले ४ महिने शिशुसहित एक महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । हिरासतमा रहेका देवर रुपलाल देउकरबारे समान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधबार उनकै घर कैलालीको गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको हो । सीताकी अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर–भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिएको छ । ५ बच्चाकी आमा रहेकी सीतालाई प्रहरीले हिरासतमा राखेपछि उनका घरमा ४ जना बच्चाहरूको बिचल्ली भएको पुरनले दुखेसो सुनाए । सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन् । गत चैत ११ गते रुपलाललाई विप्लव कार्यकर्ता भन्दै प्रहरीले हिरासतमा लिएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का क्षेत्रीय संयोजक खडकराज जोशीले हिरासतमा लिएकोबारे आफूहरूले पनि अनुसन्धान शुरू गरेको बताए । कसैसँग नाता भएकै कारण, घरमा बस्न दिएकै कारण, त्यो पनि दुधे बालकसहित हिरासतमा राख्नु प्रहरीको नियत गलत रहेको भन्दै सीतालाई हिरासतमुक्त गर्नुपर्ने संयोजक जोशीको भनाई छ ।
त्यसैगरी अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) ले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि केपी सरकारले लगाएको प्रतिबन्ध हटाउनका लागि पत्र पठाएको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (माक्र्सवादी—लेनिनवादी) का अध्यक्ष निक जि. ले २७ मार्च २०१९ मा प्रधानमन्त्री के.पी. ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिबन्धलाई हटाइयोस् । हामी नेपाल कम्युनिस्ट पार्टीलाई कानूनी मान्यता दिइयोस् र उक्त पार्टीका थुना र जेलमा परेका सबै नेतारकार्यर्ताहरूलाई रिहा गरियोस् । वक्तव्यमा अगाडि भनिएको छ नेपालमा सञ्चालित जनयुद्धले देशी विदेशी प्रतिक्रियावादी, नकारात्मक विदेशी हस्तक्षेप, भ्रष्टाचारबाट मुक्त गर्ने लक्ष्य लिएको थियो । साम्राज्यवाद, सामाजिक साम्राज्यवाद र क्षेत्रीय विस्तारवादका विरुद्ध लडेको पार्टीका विरुद्ध कम्युनिस्ट पार्टीले कसरी दमन चलाएको छ ? पत्रमा अगाडि भनिएको छ हामी नेपाल सरकारलाई नेपाल कम्युनिस्ट पार्टीसँग अर्थपूर्ण वार्ता गरेर नेपालको सार्वभौमिकता, स्वतन्त्रता र नेपाली जनताको जनवादी अधिकारलाई अझ सुदृढ गर्ने सामाजिक अभिलाषा पूरा होस् भन्ने अपेक्षा राख्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *