बनेपा, २८ चैत । नेपाली काङ्ग्रेस पार्टीलाई एकताबद्ध बनाउने पक्षमा आफु सधैँ रहेको
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ को नौबिसेमा नेपाली काङ्ग्रेस क्षेत्र नं १ को पार्टी कार्यालय भवन शिलान्यास एवं बृहत् आमसभा कार्यक्रममा उनले पार्टीभित्र एकता खोज्नेहरुले व्यवहारमा पनि एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरेका छन । उनले भने “म सधैँ पार्टीलाई एकताबद्ध बनाउने पक्षमा छु, यस कार्यमा सिटौलाजीले सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।” उनले गुट, उपगुट अन्त्य गर्दै पार्टीभित्र एकता गर्नमा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।‘पार्टी एक हुन जरुरी छ भनेर सिटौलाजीले भन्नुभयो। म पार्टी सभापति हो । मेरो स्वार्थ, चाहना नै पार्टी एक हुनुपर्छ भन्ने हो। मैले चाहेर मात्र हुन्न, सबैको सहयोग भए पार्टी एक हुन्छ हुन्छ,’ सिटौलातिर हेर्दै देउवाले भने, ‘तपाईं पनि आउनुहोस् सहयोग गर्नुपर्छ, पार्टी एक बनाउनुपर्छ।’‘मलाई यो भन्न मन छैन तर पार्टी एकता नहुनु नै हाम्रो पार्टीको दुर्भाग्य हो,’ देउवाले भने, ‘हाम्रो पार्टी बलियो छ तर अरूसँग लड्नै सक्दैन। इतिहास नै त्यस्तै छ, पार्टी आफैंभित्र कमजोर ।’पार्टीभित्र नेताहरूको झगडाले बहुमत ल्याएका बेला पनि काम गर्न नसकेको उनले बताए । ‘पहिलेदेखिकै झगडाले पार्टी सुध्रिएन। झगडा नै दुर्भाग्य हो,’ देउवाले भने, ‘म सभापति भएका बेला वर्षौंदेखि पार्टीभित्रका झगडा अन्त्य गर्ने मेरो पनि चाहना छ।’ पार्टी एक गराउनु नै आफ्नो स्वार्थ रहेको उल्लेख गर्दै उनले भने, ‘म पार्टी एक गराउन दत्तचित्त छु । शेरबहादुरले पार्टी एक बनायो भन्ने हुन्छ नि। कम्युनिस्टले जनतालाई दुःख दिन खोजिरहेको छ, उनीहरूसँग लड्न पनि एक हुनु जरुरी छ।’
यसैगरी पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनाताको चाहनाअनुसार काम गर्न नसकिरहेको अवस्थामा सरकारले गरेका त्रुटिलाई औँल्याएर पार्टी जनताका बीचमा पुग्न सक्नुपर्ने बताए । “एकता, सिद्धान्त, नीति र कार्यक्रमका आधारमा हुनुपर्छ,” उनले भने । सिटौलाले सभापति देउवालाई ब्यंग्य गर्दै भने, ‘पार्टीभित्र बृहत एकताको प्रस्ताव बनाउनुहोस्।’सिटौलाले आफू नेतृत्वका लागि तयार रहेको भन्दै त्यसमा सघाउन कार्यकर्तालाई घुमाउरो ढंगले आग्रह गरे। ‘नयाँ चेत उचाइमा पुगे मात्र कम्युनिस्टसँग भिड्न सकिन्छ,’ उनले भने।‘तपाईंहरूलाई साक्षी राखेर म सभापतिजीलाई आग्रह गर्छु, पार्टीभित्र सिद्धान्त, नीति र कार्यक्रमका आधारमा बृहत एकता गरेर जानुस । एकताको मार्गचित्र निर्माण गर्नुस,’ सिटौलाले थपे, ‘सम्पूर्ण कांग्रेसजन एक हुन तयार छन्।’सिटौलाले नेतृत्वको आलोचना गर्दै एउटै पार्टी नेकपाबाट सभामुख, उपसभामुख भए पनि कांग्रेसले दह्रोसँग आवाज उठान नगरेको, संवैधानिक निकायमा संविधानविपरीत नियुक्ति हुँदा र सत्ताले संविधानको मूल मर्ममाथि प्रहार गर्दा पनि मौन बसेको आरोप लगाए । सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शुक्रबार आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको बैठकमा सिटौलाले आफूमाथि अपमान भएको भन्दै बहिस्कार गरेका थिए । सभापति देउवाले २९ सदस्यीय कार्यसम्पादन समितिमा वरिष्ठ नेता पौडेल पक्षलाई ४० प्रतिशत दिन तयार भएपछि सिटौलालाई कसले समेट्ने भन्ने विवाद उत्पन्न भएको थियो । पौडेलले आफूलाई ४० प्रतिशत दिँदा सिटौलालाई ६० प्रतिशत हिस्सा लिने पक्षले समेट्नुपर्ने बताएका थिए । देउवा पक्षले लामो समयदेखि सिटौला आफ्नो पक्षमा नरहेकाले पौडेलले नै समेट्नु पर्ने तर्क गरेका थिए । दुवै नेताको कुरा सुनेपछि सिटौला केही नबोली बैठकबाट रिसाउँदै बाहिरएका थिए ।
आमसभामा बोलेका कांग्रेसका युवा नेताहरूले भने आन्तरिक विवादभन्दा सरकारको आलोचनामा समय खर्चिए । प्रवक्ता शर्माले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको बताए। उनले एउटा निर्वाचन हारेर कांग्रेस कमजोर नहुने भएकाले प्रधानमन्त्रीलाई कांग्रेसको चिन्ता नलिन आग्रह गरे।केन्द्रीय सदस्य प्रदीप पौडेल प्रधानमन्त्री केपी ओलीप्रति आक्रमक रूपमा प्रस्तुत भए। लगानी सम्मेलनमा रासायनिक मल कारखाना खोल्ने एजेन्डा राखेका ओलीले एक सातापछि ‘काँक्रो बहुला’ भन्ने अभिव्यक्ति दिएको उनले बताए ।‘प्रधानमन्त्रीजी रासायनिक मल कारखाना खोल्ने प्रस्ताव गर्नुहुन्छ अनि रासायनिक मल हालेका काँक्रो खान हुन्न, अस्वस्थ्य हुन्छ भन्नुहुन्छ,’ पौडेलले भने, ‘यस्तोमा समृद्धिको आशा गर्न सकिन्न ।’