विकासकालागि एकजुट हुनुपर्छ ः अध्यक्ष प्रचण्ड

चितवन, २८ चैत । विकासकालागि प्रतिपक्ष र सत्तापक्ष नभनी एकजुट भएर लाग्नुपर्ने पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले बताएका छन ।
माडी क्याम्पसको प्रथम ऐतिहासिक सभालाई बुधबार सम्बोधन गर्नुहुँदै उनले विकास र समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन । उनले नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको बताउँदै भने, “विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनुपर्छ ।” शिक्षा क्षेत्रको विकासबाटै देशको विकास सम्भव हुने भन्दै उनले भने, “हाम्रा पुर्खा अशिक्षित भएर पनि बैरीसँग लडे, उनीहरुले निर्यात बढाए, हामी शिक्षित भएर पनि आयात बढाउँदैछौँ ।” शिक्षालाई उत्पादनमुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो । शिक्षित युवा विदेश पलायत हुँदै गएको र यहाँ बालबालिका मात्रै रहेको भन्दै उनले यसले देशको विकास नहुने बताए । शिक्षामा सार्वजनिक र निजी सहकार्यका लागि उचित सन्तुलनसहित अघि बढ्नुपर्ने उनले बताए । निकुञ्जपारीको नगरपालिका माडी र भरतपुरका बीचमा दुई देशको जस्तो देखिएको बताउँदै उनले निकुञ्ज ऐन संशोधन गरेर माडीको विकास गर्नुपर्ने बताए । आगामी चार वर्षमा माडीको विकासमा कायापलट हुने बताउँदै उनले आउने वर्षमा सबैले देख्ने गरी माडीको रङ बदलिने बताए । राष्ट्रिय निकुञ्ज ऐन विसं २०२९ मा बन्दा माडीमा अहिलेजस्तो धेरै जनता नभएकाले त्यो ऐनले जनावर देख्ने तर जनता नदेख्ने उनको भनाइ थियो । “यो ऐन बदलेर यहाँ मान्छे पनि छन् भन्ने देखाउन बहस शुरु गरेको छु । बैठक गरेको छु प्रधानमन्त्रीसँग, वनमन्त्रीसँग, कर्मचारीसँग”, उनले भने, “राजनीतिक नेतृत्वले भनेको कुरा कर्मचारीतन्त्रले सजिलै मान्दैनन् । कर्मचारीतन्त्र कन्जरभेटिभ हुँदो रहेछ । राजनीतिक नेतृत्व सधैँ परिवर्तनका पक्षमा छ ।” सो अवसरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ पुस्तालाई हेरेर शिक्षा दिनुपर्ने बताए । प्राविधिक शिक्षालाई जोड दिनुपर्ने भन्दै उनले आगामी शैक्षिकसत्र सम्ममा सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याइने बताए । हाल रहेका ७५३ स्थानीय निकायमध्ये ५५७ मा प्राविधिक शिक्षा पढाइ हुने गरेको उनले जानकारी दिए । शैक्षिक क्षेत्रको विकासबाटै देशको समृद्धि सम्भव भएको उनको भनाइ थियो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ‘समृद्ध नेपाल सुखी नेपाली’को चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए । पहिलेको जस्तो अलपत्र योजना अब देख्न नपर्ने भन्दै उनले घोषणापत्रमा उल्लेख भएअनुसारका काम गरिने बताए । निर्वाचनपछिको पहिलो वर्ष समृद्धिको खाका कोर्ने काममा आफूहरु लागेको भन्दै उनले अब विकासले गति लिने बताए । अब जनताले महसुस गर्ने गरी विकास देख्न पाउने महासेठको भनाइ थियो । उनले आउँदो चार वर्षमा एक हजार ८०० किलोमिटर हुलाकी सडक विस्तार गरिने बताए ।
यसैगरी नेपाल कम्यनिष्ट पार्टी(नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले नेपाली कांग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई बुधबार स्वागत गरेका छन्। चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोपी लगाइ पार्टीमा स्वागत गरेका हुन्। यसरी प्रवेश गर्नेहरूमा माडी नगरपालिका वडा नं. १ का नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु उत्तम न्यौपाने, अर्बिन काफ्ले र दशरथ भण्डारी रहेका छन्। त्यसैगरी राप्रपाबाट सुरज कार्की, मनोज राई, प्रेम न्यौपाने, राजकुमार राई, डोरबहादुर कार्की, श्याम नेपाली, विशाल सापकोटा, नवराज राई, भिमबहादुर राई, सुजन कुमाल, जीवन नेपाली, रवीन्द्र कार्की यन्द्र प्रसाई, प्रताप प्रसाई, दुर्गा प्रसाई, रोशन भट्टराई, हेम राई, गोपाल नेपाल नेकपामा प्रवेश गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *