बिरामीको उपचारमा लाग्न चिकित्सकलाई आग्रह

भरतपुर, २५ चैत । आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न चिकित्सकलाई उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आग्रह गरेका छन । अवैज्ञानिक तरिकाले ल्याएको समायोजन नीति मान्दैनौँ भन्दै सरकार चिकित्सकहरु आन्दोलनमा छन । मन्त्री यादवले वभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताएका छन । आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताए ।“अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रुपमा लिन्छ”, उनले भने, “तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी छैन् ।” समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रम मात्र भएको उनको तर्क छ । “वृत्ति विकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन”, उनले भने, “यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ ।” चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उनले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राखे । चितवन मेडिकल कलेज फरक प्रसङ्गमा उनले भने, “तोकेको भन्दा बढी शुल्क लिने र दिने दुवै दोषी हुन, यसको छानबिन हुन्छ ।” सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उनले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाएका छन ।
यता कर्मचारी समायोजन विधेयकले चिकित्सकलाई एउटै ठाउँमा सडाएर राख्न लागेको सरकारी चिकित्सकहरुको तर्क छ । उनीहरु भन्छन, ’अवैज्ञानिक तरिकाले ल्याएको समायोजन नीति मान्दैनौँ। चिकित्सकलाई पढेका आधारमा माथिल्लो अस्पतालमा आउने बाटो बन्द गर्ने काम हामी मान्दैनौँ।’स्थानीय तहमा काम गर्ने चिकित्सकलाई प्रदेशमा र प्रदेशमा काम गर्ने चिकित्सकलाई संघको अस्पतालमा आउने बाटो कर्मचारी समायोजन विधेयकले बन्द गरेको उनीहरुको तर्क छ । समायोजन विधेयककै कारण एमडी, डिएमलगायत कोर्स, ट्रेडिङ लिन र अपडेट हुने बाटो बन्द हुने भएकाले आन्दोलन गरेको बताउँछन् । सोही कारण सरकारी अस्पतालमा अहिले हड्ताल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *