नेकपाका तीन सय बढी नेता तथा कार्यकर्ता पक्राउ,प्रहरीले झुठा मुद्धा लगाएको नेकपाकोे आरोप

काठमाडौं, २५ चैत्र । देशभरबाट नेकपाका नेता तथा कार्यकर्ता अहिलेसम्म झण्डै तीन सय बढी पक्राउ परिसकेको नेकपाले जनाएको छ । पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले झुठा मुद्धा लगाएको नेपाल कम्युनिस्ट पार्टीले आरोप लगाएको छ । बिभिन्न मितिमा देशभरबाट गिरफ्तार गरिएका अधिकाश नेता तथा कार्यकर्ताहरु अहिले पनि हिरासतमै रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित सयौं नेता कार्यकतालाई प्रहरीले गिरफ्तार गरिसकेको छ । हालसम्म गिरफ्तार उच्च नेतामा भने सदर्शन हुन् । यस्तै पार्टी पोलिटब्युरो सदस्य तथा जबस इन्चार्ज मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्यहरु वसन्त श्रेष्ठ र बन्धु चन्द पनि प्रहरी हिरासतमै रहेका छन् । सुदर्शनसहित नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ ‘प्रज्वलन’, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्का पक्राउ परेका थिए । पक्राउ परेका ९ जनामध्ये नेता सुदर्शनलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएको छ, भने केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज वसन्त श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त चापागाउँ, शंकर अधिकारीलाई महानगरीय प्रहरी बृत्त सातदोबाटो, सञ्जिव कार्कीलाई महानगरीय प्रहरी प्रभाग सानेपामा राखिएको छ । यसैगरी देव घिमिरेलाई महानगरीय प्रहरी बृत्त चापागाउँ र लोकेन्द्र खड्कालाई प्रहरी प्रभाव जावलाखेलमा राखिएको जनाईएको छ । यस्तै नेकपाका विकास महर्जन महानगरीय प्रहरी प्रभाग सातदोवाटोमा र बुद्धबहादुर सिंङताङ भैसेपार्टी स्थित प्रहरी हिरासतमा छन् ।यसअघि काभ्रेबाटै पक्राउ परेका नुम बहादुर विश्वकर्मा र राजिव तामाङलाई महानगरीय प्रहरी बृत्त महाराजगन्जमा राखिएको बताईएको छ । शिव धिमाल र विशाल तामाङलाई ललितपुरमै राखिएको जनाईएको छ ।यसैगरी चैत १ गते राती गिरफ्तार पार्टी पीवीएम मोहन कार्की ‘जीवन्त’लाई महानगरीय प्रहरी परिसर, टेकुमा राखिएको छ, भने फागुन १४ गते फक्राउ परेको सूर्य भुजेललाई पनि टेकुमा नै राखिएको छ । जीवन्तलाई राजद्रोहको मुद्धा लगाईएको छ । उनी ललितपुरको च्यासलबाट औषधी लिन डेरामा पुगेका बेला पक्राउ परेका थिए ।उता अछामबाट गिरफ्तार परेकी पार्टी केन्द्रीय सदस्य बन्दु चन्द पनि अझै प्रहरी हिरासतमा नै छिन । यस्तै पूर्वको मोरङबाट चैत १० गते पक्राउ परेका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठ ‘पुस्कर’ र व्युरो सदस्य माधव गौतमलाई ईलाका प्रहरी कार्यालय इटहरीमा राखिएछ भने चैत १३ गते गिरफ्तार मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय लौकहीमा राखिएको छ । चैत १२ गते गिरफ्तार रमेश खड्कालाई जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा राखिएको छ । चारैजना मोरङबाट पक्राउ परेका भए पनि मोरङ प्रहरीले अड्डा सार गरी इलाका प्रहरी कार्यालय धरानमा बुझाएको थियो ।
धरानको पानमाराबाट एक महिना अघि धनकुटा मोरङका संयुक्त जिल्ला इन्चार्ज देवकुमार लिम्बु ‘संगित’लाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । लिम्बुसहित त्यसपछि पक्राउ परेका पाँचै जनालाई प्रहरीले हाहतियार खरखजना ऐन अन्र्तगत मुद्दा चलाएको छ ।
पक्राउ परेका पाँचै जना विरुद्ध प्रहरीले हातहतियार खरखजना तथा संगठित अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन ।
यसैगरी नेत्रविक्रम चन्द नेतृत्व समूह निकट अखिल (क्रान्तिकारी) कास्कीकी एक नेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी विद्यार्थी सङ्गठनका जिल्ला उपाध्यक्ष आस्था नेपालीलाई आइतबार प्रहरीले पोखरा–११ फूलबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । स्याङ्जा स्थायी ठेगाना भएकी विद्यार्थी नेत्री नेपाली हाल फूलबारीमा बस्दै आएकी थिन । प्रहरीले गत हप्ता सोही विद्यार्थी सङ्गठनका पृथ्वीनारायण क्याम्पस एकाइका अध्यक्ष प्रकाश बाँस्तोला र जिल्ला सदस्य उज्जवल पुनलाई पक्राउ गरेको थियो । यसअघि उक्त समूहका प्रदेश संयोजक किसानसिंह गुरुङ र कास्की प्रमुख रामकाजी गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।
यता नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’लाई आइतबार प्रहरीले पुनः गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको हो । बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै आइतबार रिहा गर्न आदेश दिएको थियो ।नेता कार्की विरुद्ध संखुवासभामा अर्को मुद्दा भएको भन्दै पुनः गिरफ्तार गरिएको प्रहरीले बताएको छ । उक्त मुद्दामा अनुसन्धान गर्नु पर्ने भएकाले गिरफ्तार गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी बसन्तकुमार लामाले बताए ।संखुवासभाबाट पत्र प्राप्त आएकोले गिरफ्तार गरिएको भन्दै प्रहरीले संखुवासभा लगेको छ । नेता जीवन्तलाई यसअघि उनलाई चैत पहिलो साता राज्यविरुद्धको अपराध कसुर अन्तरगत मुद्दा लगाएको थिए । अदालतले उक्त आरोप पुष्ट नभएको बताउँदै रिहा गर्न आदेश दिएको थियो । तर संखुवासभामा भने प्रहरीले कार्की विरुद्ध हातहतियार तथा खरखजना मुद्दा अगाडि बढाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *