काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प छैन ः महामन्त्री कोइराला

काठमाडौँ, २५ चैत । नेपाली काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन । महामन्त्री डा. कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताए । नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आइतबार आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा समसामयिक राजनीतिक विषयमा महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको बताएका हुन । महामन्त्री डा कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै “म पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई मिलाउँदै पार्टीलाई एक ढिक्का बनाउन लागिपरेको छु, पार्टीलाई एकताबद्ध बनाएर लैजान सके काङ्ग्रेसलाई कसैले जित्न सक्दैन, काङ्ग्रेस फेरि ठूलो पार्टी हुने दावी गरेका छन । महामन्त्री डा कोइरालाले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा प्रधानमन्त्रीमा शक्ति सञ्चय गर्नु गलत भएको आरोप लगाएका छन । काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रमा ढकाल, प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, भक्तपुर काङ्ग्रेसका पूर्वसभापति गणेशमान चक्रधर, काङ्ग्रेस नेता अष्टकुमार कबे, क्षेत्र नं १ का सभापति जीवन खत्री, नेता मदनकृष्ण श्रेष्ठ, सङ्घका जिल्ला सभापति सरु बानियाँ लगायतले काङ्ग्रेसभित्रको गुटउपगुट अन्त्य हुनुपर्नेमा जोड दिएका छन ।
त्यसैगरी
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी गुटगत भासमा फसेको बताएका छन । नेपाल प्रेस युनियनद्वारा आइतबार बागलुङमा आयोजित पत्रकार भेटघाटमा उनले चुनावपछि काङ्ग्रेस हलचलबाट गुज्रेको उल्लेख गरे । “पार्टीको आन्तरिक शक्ति सङ्ग्रह पनि हुनसकेको छैन”, नेता आचार्यले भने, “गुटगत विभाजनबाट काङ्ग्रेसलाई बाहिर निकाल्न कोशिस भइरहेको छ ।” पार्टी कमजोर भएका कारण प्रतिपक्षीको भूमिका पनि अर्थपूर्ण हुन नसकेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री समेत रहेका नेता आचार्यले मुलुको समृद्धिका लागि विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए । सरकारले हालै गरेको लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ छ । पूर्णतया लगानीयोग्य वातावरण नबनेसम्म विदेशी लगानी नभित्रने उनको जिकिर छ । उद्योगी, व्यवसायीलाई लगानीका लागि उत्प्रेरित गर्ने गरी नीतिगत र संरचनागत सुधार गर्नुपर्नेमा उनले जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *