८ महिनामा जुवातास खेल्ने ८०६ जना पक्राउ

काठमाडौँ, १८ चैत । चालू आवमा उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६ जनालाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालयअन्तर्गत रहेका काठमाडौँ, भक्तपुर र ललितपुर प्रहरीले चालू आवमा उपत्यकाका विभिन्न स्थानमा जुवातास खेल्ने तथा खेलाउने ८०६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँबाट ६३२, भक्तपुरबाट १४८ र ललितपुरबाट २६ रहेका छन् । काठमाडौँबाट साउन ६१, भदौ ११, असोज ८८, कात्तिक ८७, मङ्सिर ९४, पुस ७६, माघ ७८ र फागुनमा १३७ लाई पक्राउ गरेको छ । यस्तै भक्तपुरबाट साउन १४, भदौ १७, असोज ४०, कात्तिक ४३, मङ्सिर नौ, पुस सात र माघमा १८ पक्राउ परेका छन् भने ललितपुरबाट असोज ११, कात्तिक ११ र पुसमा चार पक्राउ परेका छन् । पक्राउ परेकामध्ये काठमाडौँ ८०, ललितपुर तीन र भक्तपुरका सातलाई मुद्दा दायर गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । प्रहरीले जुवातासमा पक्राउ गरेकामध्ये काठमाडौँबाट साउन तीन, भदौ आठ, असोज ११, कात्तिक ९, मङ्सिर ९, पुस ८, माघ ९ र फागुनमा २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै भक्तपुरबाट भदौ दुई, असोज दुई, पुस एक र माघमा दुई तथा ललितपुरबाट असोजमा दुई र कात्तिकमा एक जनाविरुद्ध मुद्दा दायर गरेको हो । प्रहरीले उपत्यकामा जुवातास खेल्ने तथा खेलाउनेसँग चालू आवमा मात्र रु एक करोड छ लाख ९७ हजार बरामदसमेत गरेको छ । बरामद भएको रकममध्ये काठमाडौँबाट रु ९२ लाख ३५ हजार, ललितपुरबाट रु एक लाख चार हजार र भक्तपुरबाट रु १३ लाख ५८ हजार रहेको प्रवक्ता ज्ञवालीले बताए ।
यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु१ख ९२४२ नंको यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित झापा गौरीगञ्ज गाउँपालिका–३ का २४ वर्षीय समीर अधिकारीलाई शनिबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले डाइजेपाम १४७ एम्पुल, फेनार्गन १४५ एम्पुल, नुर्फिन १४६ एम्पुलसहित अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए । अधिकारीले झोलामा लुकाएर ल्याइएको अवस्थामा पक्राउ गरिएको प्रवक्ता बोगटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *