विप्लवको गाउँमा ब्यापक रूपमा सर्च अप्रेसन, करिब २०० जना नेता–कार्यकर्ता पक्राउ, पक्राउ पर्ने र छुट्ने क्रम जारी

काठमाडौं, १७ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” को गाउँमा प्रहरीले ब्यापक रूपमा सर्च अप्रेसन चलाएको छ ।
कपिलवस्तु जिल्लाको शिवगढी नगरपालिका ९ स्थित गाउँमा ब्यापक रूपमा प्रहरीले सर्च अप्रेसन चलाएको हो । करिब ३ सय भन्दा बढि प्रहरीलले अप्रेसन चलाइरहेको जानकारी त्यहाँका स्थानीयले दिएका छन । यस भन्दा अघि पनि प्रहरीले महासचिव विप्लवको गाउँमा सर्च अप्रेसन चलाएको थियो । सरकारले प्रतिवबन्ध लगाएसँगै प्रहरीले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पाटी (नेकपा)का कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन । प्रतिबन्ध लगाए यता प्रहरीले एक महिनाको अवधिमा करिब २०० नेता–कार्यकर्ता पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार मुद्दा बुझाइएकामध्येबाट ५४ जना विप्लव कार्यकर्ता अदालतबाट छुटिसकेका छन । फागुन १० गते नख्खुमा बम बिस्फोट भएयता विप्लव माओवादीका नेता कार्यकर्ता पक्राउ अभियानलाई तीव्रता दिएको थियो । सोही सिलसिलामा सिन्धुपाल्चोकबाट १७ जना विप्लव माओवादीका कार्यकर्ता समातिएका थिए । एकै दिन समातिएका उनीहरू सबै छुटिसकेका छन । विस्फोटको जिम्मा लिने नेकपाका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ समेत पक्राउ परेका छन । उनी हालसम्म पक्राउ परेका उच्च तहका नेता हुन् । सुदर्शन नेकपाभित्र तेस्रो वरियताका नेता हुन् । प्रहरीले पोलिटब्यूरो सदस्य मोहन कार्की (जीवन्त) केन्द्रीय सदस्य बसन्त श्रेष्ठ, कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ, मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, नवलपरासी इञ्चार्ज गंगा ज्ञवाली ‘सुमन’, कालिकोट जनसरकार प्रमुख धनराज शाही, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का संयोजक राजु कार्कीसहित करिब २०० को हाराहारीमा प्रतिबन्धित नेकपाका नेता तथा कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी नेतालाई प्रहरीले कीर्तिपुर क्याम्पसबाट पक्राउ गरेको छ । विप्लव समूह निकट अखिल क्रान्तिकारीका कीर्तिपुर क्याम्पस जिल्ला कमिटी अध्यक्ष मदन चापागाईँलाई प्रहरीले क्याम्पसबाटै पक्राउ गरेको हो । पर्वत फलेवास– १० का चापागाईँ त्रिवि केन्द्रीय क्याम्पसमा एमबीएस दोस्रो सेमेस्टरका विद्यार्थी हुन ।
यसैगरी जिल्ला प्रहरी कार्यालय स्याङजाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्याङ्जा सेक्रेटरीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पुतलीबजार नगरपालिका(१३ छहरीखोलाबाट विप्लव समूहका स्याङ्जा जिल्ला सेक्रेटरी ३३ वर्षीय गोकुल परालुली र विप्लव समूहको मजदुर महासंघ स्याङजाका अध्यक्ष बताउने गोबिन्द ओली जीवनलाई पक्राउ गरेको हो । पराजुलीको स्थायी घर कास्की हो भने ओलीको घर रुकुम जिल्लामा पर्दछ । शुक्रबार नै स्याङ्जा जिल्ला अदालत स्याङजाबाट ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि राज्यविरूद्धको अपराध र विष्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोे प्रवक्ता भण्डारीले जानकारी दिए ।
यसैबिच नेत्रविक्रम चन्द(विप्लव) समुहका कास्की जिल्लास्तरीय एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समुहका कास्की जिल्ला प्रमुख रामकाजी गुरुङलाई शुक्रबार साँझ पोखरा–२५ याम्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए । पोखरा–११ फूलबारी निवासी गुरुङ विप्लव समूहका जिल्लाका प्रभावशाली नेता भएको बुझिएको छ । प्रहरीले गत हप्ता सोही समूहका तमुवान जनपरिषद्का संयोजक लेखनाथ निवासी किसानसिंह गुरुङलाई पक्राउ गरेको थियो ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी चितवनका नेता तथा कार्यकतालाई संकटकालको झझल्को दिने गरी गृह प्रसाशनले शनिबार गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा राजकुमार तिमिल्सीना, जयबहादुरकुवँर, बीरबहादुरतामाङ, गुणराज श्रेष्ठ, यातायात व्यावसायी मित्र केसी, विद्यार्थी नेता बिक्रम न्यौपाने र रणदिपलाई गिरफ्तार गरेको चितवन जिल्ला इन्चार्ज र सेक्रेटरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरुलाई चितवनको जिप्रकामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *