नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको गुनासो

काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गुनासो गरेका छन । नेपाली कांग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी पुगेका सभापति देउवाले नेपाली कांग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएको बताएका हुन । उनले पार्टीमा एकताको खाँचो रहेको बताएका छन । ’विगतले हामीलाई धेरै पाठ सिकाएको छ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘हामी कांग्रेसका नेता कार्यकर्ताहरू एक नहुँदा निर्वाचनमा धेरै स्थानहरूमा पराजय भोग्न प¥यो अब कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने । उनले एकीकृत कांग्रेस बनाउन सकेको भए निर्वाचनमा यस्तो अवस्था नआउने भन्दै अब पार्टी एक हुनुपर्ने बताए । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत लगायत एक दर्जन केन्द्रीय सदस्यहरूसँगै गुल्मी पुगेका पार्टी सभापति देउवाले आगामी दिनमा नेपाली कांग्रेस एक भएर अगाडि बढ्ने ठोकुवा गरे । उनले केपी ओली नेतृत्वको दुई तिहाइको वर्तमान सरकारले केही काम गर्न नसकेको आरोप लगाए । अहिले सरकार काम गर्नभन्दा पनि गफ गर्नमा व्यस्त रहेको बताउँदै उनले भने,‘हिजो कांग्रेसको सरकारले गरेका विकास निर्माणका कामहरूको रिवन काटेर उद्घाटन गरेर मात्र यो सरकारले बढी प्रचार गर्ने काम गरेको हो।’उनले सरकारले कर बढाएर जनताको ढाड मात्रै सेक्ने र एक दलीय अधिनायकवादी शासन चलाइरहेको दाबी गरे ।संवैधानिक निकायहरूको गठन लगायतका विभिन्न निकायहरूका गठनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई जानकारी नगराइ संविधानको मर्म र भावनाविपरीत सरकार चलेको बताउँदै देउवाले भने, ‘यो सरकारको मनपरी र अधिनायकवादी शासन सहेर कांग्रेस चुप लाग्दैन।’
यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाटीभित्र एकता आवश्यक भएको बताए । उनले पार्टीभित्र विभाजन हुँदा प्रतिपक्षले धेरै फाइदा लिएकाले कांग्रेसमा एकताको खाँचो रहेको औंल्याए। ‘म जहिले पनि एकताको पक्षमा उभिएको छु’, पौडेलले भने, ‘हामीमा भएका मतभेदहरूलाई बसेर छलफलको माध्यमबाट समाधान गरी अब कांग्रेस एक ठाउँमा आउनुपर्छ ।’ उनले महासमितीको बैठकमा एउटा निर्णय भएको र पार्टीको केन्द्रीय कमिटीको बैठकमा अर्को निर्णय भएकाले आफूले पार्टीमा नोट अफ डिसेन्ट लेखेको बताए ।उनले पार्टी सभापति शेरबहादुर देउवालाई सही मूल्यांकन गरेर अगाडि बढ्न आग्रह समेत गरे । ‘म पाटी नेतृत्वलाई आग्रह गर्न चाहन्छु’, उनले भने,‘जनता र पार्टी कार्यकर्ता लगायत नेताहरूको मन जितेर नेता बन्नुहोस, यसो भएमा कांग्रेस एक हुन कुनै समस्या म देख्दिनँ’, उनले भने ।
यसैगरी नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताएका छन । नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले शनिबार आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताए । “मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको काङ्ग्रेसले आर्थिक विकासको नेतृत्व गर्न सकेन,” उनले भने । पार्टीका पूर्व महामन्त्री सिंहले महाधिवेशन भएको तीन वर्षसम्म पनि पार्टीका विभिन्न विभाग गठन हुन नसक्नुले पार्टीलाई झन कमजोर बनाउँदै गएको बताए । काङ्ग्रेसले इतिहासलाई मात्र भजाएर हुँदैन भविष्यका लागि सोच्नु जरुरी रहेको उनको भनाइ छ । उनले विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्नु राम्रो कुरा भए पनि विकास बजेट खर्च हुन नसक्नु दुःखद भएको बताए । नेता सिंहले स्थानीय तथा प्रदेश सरकार सञ्चालनका लागि चाहिने आवश्यक ऐन, कानून, नीतिनियम बनाउन ढिला गरेर सरकारले सक्षमताका साथ सरकारको नेतृत्व गर्न नसकेको आरोप लगाए । काङ्ग्रेस नेता भीमसेनदास प्रधानले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य गरी आगामी निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्नुपर्ने बेला आएको बताए । “काङ्ग्रेसले आगामी निर्वाचनका लागि आजैदेखि सङ्गठन निर्माणमा लाग्नुपर्छ,” उनले भने । पार्टीका काठमाडौँका सभापति सबुज बानियाँले महासमिति बैठकले गरेको निर्णयलाई पार्टी नेतृत्वले उल्टाएको बताउँदै पार्टी नेतृत्वको दबाबका लागि यही चैत २० र २१ गते जिल्ला सभापतिको भेला आयोजना गरिएको जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *