भ्रामक, अस्वभाविक र असत्य समाचारप्रति विप्लवको आपत्ति

काठमाडौँ, १५ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका महसचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रकालागि घातक हुने बताएका छन । उनले पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेशण नगर्न सम्बन्धित सबैमा अपील गरेका छन । ‘विप्लव’ले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै यस्तो अपील गरेका हुन । ‘विप्लव’ले केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेकाप्रति आपत्ति जनाएका छन । विज्ञप्तिमा भनिएको छ ‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेका छन् । शृंखलाबद्ध र योजनाबद्धरुपमा सम्प्रेशित यस्ता भ्रामक समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र जनताले अहिलेसम्म धोका पाइरहेको परिप्रेक्ष्यमा हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षडयन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नै पुनर्गठित गर्दै अघि बढिरहेको पार्टी जसले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ, उक्त पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेशण गर्नु वास्तवमा पत्रकारिता हुँदैन । म्यानुफ्याक्चरिङ कन्सेन्टको नीतिका आधारमा लगानी र विज्ञापन बढाउन कसैको निर्देशन र दवावमा यस्ता समाचार उत्पादन गर्नु ठीक होइन । विगतमा जनताद्वारा सञ्चालित परिवर्तनकामी आन्दोलनहरुमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको छ । अब पनि हामी सञ्चारमाध्यमहरुको विगतको जस्तै भूमिकाको अपेक्षा राख्दछौं ।
यसैगरी सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेका नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई हाजिर गराउन सरकारलाई निर्देशन दिएको छ ।वलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । । रिटमा नेपाल सरकार, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, गृहमन्त्रालय सिंहदरबार प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी प्रभाव ललितपुर, ए. का. प्रमुख, जिल्ला प्रहरी कार्यालय, काभ्रे, ललितपुर जिल्ला अदालत ललितपुरलाई विपक्षी बनाइएको छ । रिटमा प्रारम्भिक सुुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज वली चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ परेका थिए । उनीसहित ९ जनालाई बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउँदै गर्दा पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । जीपमा हतियारसमेत भेटिएको सुरक्षा संयन्त्रको दाबी छ ।वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *