हतियार र लागुऔषधसहित ४ जना पक्राउ

 

काठमाडौँ, १४ चैत । विभिन्न स्थानबाट प्रहरीले हतियार र लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहत वृत्तका इलाकामा प्रहरी परिचालन गरी विशेष खोजी अभियानका क्रममा चार व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । मङ्गलबार साँझ बालाजुबाट एक थान खुकुरी, फलामको रड र लागुऔषध १३९ एम्पुल डाईजापाम, फेनारगन, नुरफिनसहित मनमैजुका सन्तोष तामाङ र थर नखुलेका अभयलाई पक्राउ गरिएको परिसरले एक सूचना जारी गरी जनाएको छ । यसैबीच नयाँबसपार्कबाट १६ ग्राम खैरो हेरोइन र खैरो हेरोइन जोख्ने यन्त्र (तराजु) सहित बाँके कोहलपुरका रमेश बस्नेत र शेरसिंह रोकायालाई पक्राउ गरी थप अनुसन्धान थालिएको परिसरले जनाएको छ । सामाजिक विकृति, विसङ्गती, गुण्डागर्दीलगायत आपराधिक घटना नियन्त्रण गरी सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले पछिल्लो समयमा विशेष सर्च अप्रेशन चलाउँदै आएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *