विप्लव माओवादीका जनसरकार प्रमुख र सैन्य प्रमुखसहित १०० जना नेता तथा कार्यकर्ता पक्राउ,विप्लवका अधिकांश नेता तथा कार्यकर्ता भूमिगत हुँदै

 

काठमाडौँ, १४ चैत । सरकारले प्रतिबन्ध लगाए यता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका करिव १०० जना नेता तथा कार्यकर्तालाई प्रहरीले बिभिन्न जिल्लाबाट पक्राउ गरेको छ । प्रतिबन्धपछि सुरक्षा निकायले तत्काल एक्सन थालेपछि विप्लवका अधिकांश नेता कार्यकर्ताहरु भूमिगत भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज छन् । उनीहरुमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप छ । सरकारले समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि बाँके प्रहरीले समूहका नेता तथा कार्यकर्तामाथि निगरानी र खोजी कार्य शुरु गरेको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई प्रहरीले गिरफ्तार गरेको छ । श्रेष्ठलाई बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले गिरफ्तार गरेको हो । श्रेष्ठ माओवादी जनयुद्धको क्रममा लडाकु थिए । शान्ति प्रक्रियापछि काठमाडौँ आएका उनले केही समय रेडियो नेपालको घटना र विचारमा समेत काम गरेका थिए । उनी रेडियो मिर्मिरे एफएमको पूर्व अध्यक्ष समेत हुन् ।
यस्तै प्रहरीले मङ्गलबार अपराह्न अछाममा गोली प्रहार गरी नेकपाका चारजना नेतालाई गिरफ्तार गरेको छ ।नेकपा स्रोतका अनुसार जिल्लाको रामारोशन गाउँपालिका बोटोलासेनमा प्रहरीले अपरेसनका क्रममा गोली प्रहार गरी नेकपाका नेताहरू सुरेश रावत, सुरेश सावत, भूमिका सावत र कमानसिंह सावतलाई गिरफ्तार गरेको हो ।नेकपाका नेताहरूलाई गिरफ्तार गर्ने क्रममा गोली चलाएर प्रहरीले स्थानीय बासिन्दालाई आतङ्कित पारेको प्राप्त समाचारमा जनाइएको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासी जिल्ला इन्चार्ज गंगा ज्ञवाली (सुमन) र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्द्निया छन् । दुवैजनालाई सोमबार बेलुका गिरफ्तार गरिएको हो ।बर्दघाट नगरपालिका ४ घर भएका ज्ञवाली परिवारलाई भेट्न आउने क्रममा राती ८ बजे घरनजिकैबाट पक्राउ परेका हुन् । पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको छ । त्यसैगरी पूर्वी नवलपरासी कावासोती नगरपालिका १५ शेरगन्जका मर्दनियालाई घरबाटै पक्राउ गरिएको हो । उनलाई नवलपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
यसैगरी ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई चितवन प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये ६ को म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन् । आज बिहान पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने रेग्मीले बताए। भरतपुर महानगरपालिका–५ को कार्यालयमा विष्फोट गराएको अभियोगमा मुद्दा दर्ता गरी फरार रहेका १५ जनाको खोजी भइरहेको उनले बताए। पक्राउ परेकालाई बम विष्फोट र सङ्गठित अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लामा विप्लव समूहका नेताको खोजीकार्य भइरहेको बताए। स्थानीय प्रशासनले जिल्लामा घर भइ बाहिर कार्यक्षेत्र रहेका केन्द्रीय नेतामाथि पनि निगरानी बढाएको उनले जानकारी दिए।
यस्तै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको शिक्षक संगठनका रुपन्देही अध्यक्ष रामजीप्रसाद आचार्यलाई पक्राउ गरेको छ । बुटवल प्रहरीले विप्लव समूहका आचार्यसहित कार्यकर्ताहरु रेशम मल्ललाई सैनामैना वनकट्टा र शिव रानालाई सैनामैनाकै सरौलीबाट पक्राउ गरिएको हो ।आचार्य रुपन्देहीको सूर्यपुरा माविका सहायक प्रधानाध्यापक हुन् । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रुपन्देही र्पुयाइएको छ ।
यसैगरी सरकारले प्रतिबन्ध लगाएको नेकपा विप्लव समूहका १७ कार्यकर्तालाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको छ ।सांगठिनक गतिविधि गरिरहेको बेला चौतारा साँगाचोकगढी नगरपालिका कार्कीटारबाट १७ जना पक्राउ परेका थिए । प्रहरीले राज्यविरुद्धको अपराधमा मुद्दा चलाए पनि अदालतले केहीलाई धरौटी र केहीलाई साधरण तारेखमा छाड्ने आदेश दिएको छ ।न्यायधीश टीकाराम आचार्यको इजलासले इन्द्रबहादुर ठकुरीलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ । त्यस्तै रमिता अधिकारी, हिरा खत्री र सबिता श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन् भने बाँकी १३ जनालाई ६÷६ हजार धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।विप्लव समूहका कार्यकर्ता संगठन विस्तारका क्रममा काभ्रे, दोलखा, जाजरकोटलगायतका जिल्ला पुगेर कार्कीटार आइपुगेका थिए । खाना खाएर सुतिरहेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको थियो । उनीहरुको साथबाट दुई थान हम्मर, फलामा काट्ने कटर, विद्युत प्राधिकरणलाई चन्दाको लागि लेखिएको पत्रलगायतका सामग्री बरामद गरेको थियो ।यस्तै
२५ दिनअघि प्रहरीले पक्राउ गरेका विप्लव माओवादीका तीन कार्यकर्तालाई जिल्ला अदालत रोल्पाले धरौटीमा छोडेको छ । छुट्नेहरू रोल्पा नगरपालिका वडा नं. ४ निवासी लालबहादुर सुनार, गंगादेव गाउँपालिका निवासी टिकाराम परियार (कपिल), सुनिल स्मृति १ घोडागाउँका नेपेन्द्र सेन हुन् । जिल्ला न्यायाधीश रमेश ज्ञवालीको इजलासले उनीहरूलाई जनही ६० हजार धरौटीमा छोडेको हो।
यता, प्रतिबन्धपछि सुरक्षा निकायले तत्काल एक्सन थालेपछि विप्लवका अधिकांश नेता कार्यकर्ता भूमिगत भएका छन । कर्णालीमा सक्रिय कार्यकर्ताहरु पनि पछिल्लो समय भूमिगत नै छन्। विप्लवको गढ कर्णालीमा उच्च पदमा रहेका केही नेता पक्राउ पर्न थालेपछि अन्य नेता तथा कार्यकर्ता भूमिगत भएका हुन । जिल्लाको सदरमुकाममा भेटिने विप्लवका नेता कार्यकर्ता हिजोआज देखिएका छैनन् । गढ जमाएर बसेको कालिकोट र सल्यानबाट सहकर्मीहरु प्रक्राउ पर्न थालेपछि प्रदेश राजधानीमा विप्लव समूहको कुनै सुइँको नभएको प्रहरी स्रोतको दाबी छ । ‘हामीले सुरक्षाकर्मी परिचालन गरिराखेका छौँ। हामीसँग उच्चस्तरीय अध्ययन र अनुसन्धान गर्ने टोली पनि छ,’ प्रदेश प्रहरी कार्यालय स्रोतले भन्यो, ‘सरकारको प्रतिबन्धपछि हामीले एक्सन लिएर नियन्त्रण र कारवाही थालेका छौँ। जसले गर्दा पनि विप्लव समूहका नेता तथा कार्यकर्ताको भागाभाग भएको छ । अहिले त उनीहरु सामाजिक सञ्जालसहित मोबाइल नै अफ गरेर भूमिगतको अवस्थामा छन्।’ कालिकोट, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र जुम्लामा पुगेर विप्वलका गतिविधि अध्ययन गर्दै उच्च निगरानी बढाउन जिल्लास्थित सुरक्षा नियकालाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *